मंगलबार, असार २४, २०८२

हुबहु प्रश्नपत्र बनाउनेलाई ३ वर्षसम्म त्रिविका क्याम्पस पढाउन निषेध

स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको त्रिविका उपकुलपति बास्कोटाले दिए जानकारी।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउनेलाई ३ वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन नपाउने गरी कारबाही गरिएको बताएको छ।

त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार विज्ञप्ति जारी गरी विश्वविद्यालयमा दुवै प्रश्नपत्र निर्माणमा सहभागी शिक्षकलाई ३ वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा नलगाउने निर्णय गरेको हो।

आरोपितलाई ३ वर्षसम्म डीन कार्यालयको परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कुनै पनि परीक्षासँग सम्बन्धित कार्यमा संलग्न नगराउने तथा त्रिविअन्तर्गतका कुनै पनि आंगिक क्याम्पसमा प्राध्यापन गर्न नदिने निर्णय त्रिविले गरेको छ।

बीबीए छैटौं सेमेस्टरअन्तर्गत असार २२ मा भएको ‘एमजीटी २०३ः अर्गनाइजेसनल बिहेभियर’ अन्तर्गतको परीक्षामा मोडर्न नेपाल कलेज’ को हुबहु प्रश्न र बीबीए छैटौं सेमेस्टरअन्तर्गत ‘एसओसी २०२ः नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्रमा पाँचौं सेमेस्टरको ‘एसओसी २०१ः सोसियोलोजी फर बिजनेस’ को हुबहु प्रश्न सोधिएको थियो।

प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाहीः शिक्षामन्त्री

शिक्षामन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही हुने बताएका छन्।

बिहीबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानुनअनुसार कारबाही हुने जानकारी दिए। 

देशको करिब ८० प्रतिशत व्ययभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्याउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको उनको भनाइ छ। प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेकाले दोषी देखिए कारबाही गरिहाल्ने उनले बताए।

हुबहु प्रश्नपत्र बाहिर आएपछि त्रिविको कार्यकारी परिषद्को बैठकले व्यवस्थापन संकायअन्तर्गतको परीक्षा रद्द गरी साउन १ देखि परीक्षा सञ्चालन गर्ने र प्रश्नपत्र बनाउनेलाई ३ वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने निर्णय गरेको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको जानकारी दिए।

प्रकाशित: Jul 14, 2022| 15:32 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्