मंगलबार, असार २४, २०८२

माधव नेपाल समूहका विद्यार्थीद्वारा त्रिवि उपकूलपतिको कार्यलय तोडफोड

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन ‘अनेरास्वीयू’का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यलय तोडफोड गरेका छन्। साथै उपकुलपति धर्मकान्त बास्कोटाको कोठा बाहिर राखिएको नेमप्लेट समेत विद्यार्थीहरुले झिकेर फालिदिएका हुन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन ‘अनेरास्वीयू’का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यलय तोडफोड गरेका छन्। साथै उपकुलपति धर्मकान्त बास्कोटाको कोठा बाहिर राखिएको नेमप्लेट समेत विद्यार्थीहरुले झिकेर फालिदिएका हुन्।

उपकुलपतिसँग पटक-पटक भेट गर्न खोज्दा पनि समय उपलब्ध नगराएपछि आक्रोशित बनेका विद्यार्थी नेताहरुले कार्यलय तोडफोड गरेका हुन्। पछिल्लो समय व्यवस्थापन संकायअन्तर्गतको बीबीए छैठौं सेमेस्टरको परीक्षामा निरन्तर लापरबाही गरेपछि त्रिविको आलोचना भइरहेको थियो।

त्यही विषयलाई लिएर नेविसंघका विद्यार्थीहरुले डिन कार्यलयमा तालाबन्दी गरेका थिए। नेविसंघले जस्तै अनेरास्ववीयूले पनि सिधै त्रिवि उपकुलपतिलाई नै मागपत्र बुझाउने तयारी गरेको थियो। विद्यार्थी नेता टिकाराम भण्डारीकाअनुसार सोमबार बिहानै ‘म्यासेज’ गरेर विद्यार्थीहरुले उपकुलपतिको समय मागेका थिए। तर, उपकुलपतिले खासै वास्ता नगरेको ती विद्यार्थी नेताको आरोप छ।

‘यसअघि पनि तीन महिनादेखि उपकूलपतिलाई त्रिविको बेथितिबारे ध्यानाकर्षण गराउँदा पनि समय नदिने भएपछि अजित भएका थियौँ। आज पनि मागपत्र बुझाउनु पर्‍यो सर भनेर म्यासेज गर्दा पनि समय दिएनन्,’ भण्डारीले भने, ‘यता एमालेतिरका साथीहरुले चाहीँ भेटेको फोटोहरु हालिरहेका थिए। यसरी संगठन हेरेर विभेद गर्ने प्रवृति आज पनि दोहोरियो। त्यसमाथि प्रहरी परिचालन गरेर दमन गर्न खोजेपछि साथीहरुले सहन सकेनन्।’

मागपत्र लिएर जानेमा केन्द्रिय कमिटी उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष माधव पन्त सहित ११ जना थिए। उपकुलपतिलाई मागपत्र बुझाउन नपाएका विद्यार्थीहरु उग्र बनेपछि सोमबार उपकूलपति कार्यलयमा तोडफोड नै भयो। अनेरास्ववीयू केन्द्रका कार्यबाहक अध्यक्ष माधव पन्त, त्रिवि संयोजक सोभा बम, त्रिविकै विद्यार्थी नेता प्रकाश थापा, प्रज्जवल बिक्रम थापा, समीर गौतम, प्रेम विक, विपिन पारजुली, सन्तोष शेर्पा, कैलाशराज गिरी र नरदेव उपाध्यायलगायतको उपस्थितिमा सोमबार उपकूलपति कार्यलय तोडफोड भएको हो। तोडफोडपछि पक्राउ परेका विद्यार्थीहरु अहिले रिहाइ भएका छन्।


प्रकाशित: Jul 11, 2022| 20:29 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्