काठमाडौं- त्रिभुवन विश्वविद्यालयको परीक्षामा एकपछि अर्को लापरबाहीका शृंखला थपिँदै गएका छन्। शनिबार भएको बीबीए छैटौँ सेमेस्टरअन्तर्गत एक विषयको परीक्षामा अर्कै विषयको प्रश्न सोधेको भन्दै विद्यार्थी आन्दोलित भएपछि यसको शृंखला थपिएको हो। त्रिविले अघिल्लो सेमेस्टरमा सोसियोलोजीमा सोधिएको प्रश्न छैठौँ सेमेस्टरमा दोहोर्याएको विद्यार्थीहरूको आरोप छ।
शनिबार ‘नेपालीज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको परीक्षा थियो। तर, त्रिविले पाचौँ सेमेस्टरमा सोधिएको 'सोसियोलोजी'को प्रश्न ‘नेपालिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयकै लेटरहेडमा दोहोर्याएको विद्यार्थीको आरोप छ। यसरी अर्कै विषयको प्रश्नहरु अर्कै विषयको परीक्षामा सोधिएपछि आक्रोशित विद्यार्थीले पद्मकन्या क्याम्पसअघि भेला भएर विरोध गरेका हुन्।
‘पहिल्यै सोधिएको पाँचौ सेमेस्टर 'सोसियोलोजी'को प्रश्न छैटौँ सेमेस्टर पनि आएको छ। यो त्रिविको लापरबाही हो, अराजकता हो,’ नबोधित कलेजको परीक्षा केन्द्रमा सहभागी परीक्षार्थी सगुन कँडेलले नेपाल समयसँग भनिन्। विद्यार्थीले घटनाका विषयमा छानबिन गर्न माग गरेका छन्।
यसअघि पनि पटकपटक यस्तै कमजोरी गर्दै आएको छ।