काठमाडौं- भेरी अस्पताल बाँकेका मेडिकल विभागका प्रमुख तथा सिकलसेल, थालेसेमिया रोगका श्रोत व्यक्ति डा. राजन पाण्डेले रोगको फैलावट रोक्नका लागि 'कस्ताले कस्तासँग विवाह गर्ने' भन्ने विवाहकुण्डली तयार पारेका छन्। पश्चिम तराईका थारु समुदायलाई वंशाणुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएपछि रोग रोकथामाका लागि यस्तो प्रक्रिया सुरु गरिएको हो।
पछिल्लो समय थारु समुदायमा मात्र होइन अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको यो रोग रोकथामका लागि अनिवार्य रगत जाँच गर्न पनि आग्रह गरिएको हो। चिकित्सकहरुले रगत जाँच गरेर विवाह कुण्डली मिलाउन सुझाएका छन्।
डा. पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी-बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ। ५० प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न मिल्दैन। २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने डा. पाण्डेको भनाइ छ।
सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी बाहकहरु पत्ता लगाएर बाहक-बाहकबीच र बाहक र रोगीबीच विवाह गर्न नहुने भनिएको छ। यो कुरा समुदायलाई बुझाउन आवश्यक रहेको डा पाण्डे बताए। उनले भने, ‘अहिले रोग नदेखिए पनि उनीहरुबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको हो। यसबारे थारु समुदायलाई सचेत गराउन आवश्यकता छ।’
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बिरामी र बाहक पत्ता लगाएर समुदायमा सचेतनाका जगाउने काम भइरहेको बताएका छन्। उनका अनुसार बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको र जाँच भइरहेको बताए।
सिकलसेल रोगको उपचारमा धेरै खर्च लाग्ने हुँदा यसका बिरामी तथा आफन्तहरु भने सरकारले बिरामीलाई बाँचुन्जेल निःशुल्क औषधि गर्नुपर्ने माग गरिएको छ। सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्या भन्दै पश्चिमका अस्पतालहरुमा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तुलगायतका जिल्लाका थारु समुदायमा सिकलसेल रोगको समस्या देखिन्छ। यतिबेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ। रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन्।
के हो सिकलसेल एनेमिया?
मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल रोग वा सिकलसेल एनिमिया भनिन्छ। यो रोग वंशाणुगत रोग हो र नेपालमा खासगरी पश्चिम तराईका थारु जातिमा बढी पाइन्छ। यो रोग जिनमा हुने खराबीले आमा-बुबाबाट छोराछोरीमा सर्छ र बिरामीहरुको रक्तकोषहरू हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भनिन्छ।
चिकित्सकहरूका अनुसार सिकलसेल एनिमिया मलेरिया प्रभावित क्षेत्रका मानिसको रक्तकोषमा देखिने समस्या हो। बाबुआमा दुवैलाई त्यो रोग छ भने छोराछोरीलाई पनि त्यही रोग लाग्ने सम्भावना २५ प्रतिशत रहने चिकित्सकहरू बताउँछन्।
यस रोगको अवस्थालाई हेर्ने हो भने बिरामीको रगतमा सिकलसेलको मात्रा ४० प्रतिशतभन्दा कम भएको अवस्थालाई ‘ट्रेट’ भनिन्छ। सिकलसेलको मात्रा ६० प्रतिशतभन्दा बढी पुगेपछि रोगले समातेको मानिन्छ। दीर्घ रक्तअल्पता हुने, ज्वरो आइरहने, छाती दुख्ने, जन्डीस हुने, फियो बढ्ने, हाडजोर्नी दुख्नेजस्ता यो रोगका मुख्य लक्षणहरू हुन्।
सिकलसेलका बिरामीको शरीरमा हुने हँसिया आकारको रक्तकोषले रक्त सञ्चार प्रवाहमा असर पार्दछ। शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह हुन नसक्दा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाइ हुन्छ।
थारु समुदायमा देखिने सिकलसेल एनिमियाले वर्षेनी धेरैले ज्यान गुमाउने गर्दछन्। तर यसको यकिन तथ्यांक भने अहिलेसम्म सरकारसँग छैन। यसको मुख्य समस्या भनेको यस रोगको पहिचान हुन नसक्नु नै हो। मानिसहरुलाई लक्षणहरू देखा पर्दा अन्य रोगको उपचार गर्ने गरिन्छ तर सिकलसेलको पहिचान हुँदासम्म बिरामीले लाखौँ रुपैयाँ गुमाइसकेको हुन्छ।