शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।
 |  आइतबार, असार १२, २०७९

अनिल यादव

अनिल यादव

आइतबार, असार १२, २०७९

काठमाडौं- शनिबार बिहान आफ्नै डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारले घाटीमा पासो लगाउन प्रयोग गरिएको भनिएको सल भेटिएको छ। सुनारको मृत्युपछि पक्राउ परेका सूर्य श्रेष्ठसँगको प्रारम्भिक सोधपुछका क्रममा उनले बताएकै लोकेसनमा प्रहरीले सल फेला पारेको हो। 

सुनार मृत भेटिएको अघिल्लो रात उनको डेरामा श्रेष्ठ पनि सँगै रहेको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा श्रेष्ठले बिहान आफू ब्युझिँदा गायिका सुनार सलले पासो लगाएको अवस्थामा मृत देखेको बयान दिएका छन्। ‘मैले हल्का पिएको थिएँ, त्यसैले निदाएछु। त्यसपछि के भयो थाहा भएन। बिहान उठ्दा उसलाई मरेको अवस्थामा देखेर आत्तिएँ। त्यही डरले उनको घाँटीमा रहेको सल महाराजगञ्जतिर नालीमा लगेर फालेँ,’ श्रेष्ठले प्रहरीसँग यस्तै बयान दिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए। 

उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार उनले भनेकै लोकेसनमा सल फेला परेको छ। ‘महाराजगञ्ज र धुम्बाराहीको बीचतिरको नालीमा फालेको अवस्थामा सल भेटियो तर सुनारले प्रयोग गरेको मोबाइल अझै फेला परेको छैन,’ एसपी कोइरालाले भने, ‘श्रेष्ठले पनि मोबाइलबारे आफूलाई थाहा नभएको बताइरहेका छन्। घटना शंकास्पद देखिन्छ। हामी अनुसन्धानकै चरणमा छौं। पोस्टमार्टमा रिपोर्ट साँझ या भोलिसम्म आउँला। त्यहाँबाट हत्या हो या आत्महत्या, धेरै कुरा खुल्नेछ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो। 

गायिका सुनार मृत भेटिनुको अघिल्लो रातको १ बजेर २० मिनेटमा उनले आफ्नो फेसबुकमा ‘म थाकेँ, धेरै थाकेँ , अब बाँच्न सक्दिनँ’ भन्दै लामो सुसाइड नोट लेखेकी थिइन्। धेरै अशुद्ध रहेको उक्त स्टाटस उनी आफैले लेखेकी हुन्/होइनन्, प्रहरीले त्यो पाटोमा पनि अनुसन्धान गरिरहेका छ। ‘उनका पुराना पोस्ट पनि शुद्धसँग लेखिएको देखिएन तर राति स्टाटस लेखिएको मोबाइल बिहान उनको कोठा नभेटिनु शंकास्पद छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

सुनारको स्टाटस देखेपछि उनका फ्यानले बिहानै घरबेटी सर्वोत्तम श्रेष्ठलाई फोन गरेका थिए। त्यसपछि घरबेटी सुनारको कोठामा पुग्दा ढोका खुल्लै थियो, सुनारको खाटमा घोप्टो परेको अवस्थामा मृत थिइन्। घाँटीमा निल डाम थियो तर आत्महत्या या हत्याका लागि प्रयोग गरिएका कुनै वस्तु थिएनन्। ढोका खुल्ला हुनु, मोबाइल र पासो लगाइएको सल नहुनुले उनको मृत्युलाई रहस्यमय बनाएको हो। 

सुनारले मध्यरातमा फेसबुकमा लेखेको सुसाइड नोट: 

नमस्कार  सबै जनामा र सबैलाई मिठो सम्झना छ। यो जिन्दगिको उतारचढाव धेरै भोगेँ तर जब म जान्ने भएँ, अनि म एक्लो भएँ। कसैको माया पाउन जति कोसिस गरे पनि सकिनँ।  तर पनि हार खाइनँ तर अहिले  धेरै गाह्रो भयो । म बाचेर पनि दिनदिनै मर्न सकिनँ। आमा तिम्री छोरी धेरै थाकिछे। जीन्दगीको मोड धेरै अप्ठेरा आए। पार पनि गरेँ। जसलाई राम्रो गर्छु भनेपनि भएन ।  म कहाँ जाऊ आमा दुख पोख्न ? माइत आउँ भनी तिम्लाई थाछ सबै कुरा,  भित्र भित्रै मोरेर बाँचेछु ।  आमा, म नभएर के भो त, चार बहिनी छोरीहरु छन्,  मन बुझाउनु होला । नरुनु आमा।

छोरा, तिमीलाई धेरै पढाउने र असल मान्छे बनाउने मन थियो। तर  सकिनँ।  तिमी जसरी भएपनि  ठुलो मान्छे बन्नु है । म नभए पनि मेरो आर्शिवाद सधैँ तिमीसित हुनेछ। बहिनी हर्ष आमालाई गालि नगर्नु । आमा बाच्दासम्म मेरो कमी हुन नदिनु  । मेरो गीत जहाँ छ, जति छ बजारमा ल्याइदिनु, जसले भएपनि। 

म थाकेँ, धेरै थाकेँ। अब म बाच्न सक्दिनँ। यो दुनियाँ   धरै स्वार्थी छ।  र, म आफ्नो इच्छाले यो कदम उचालेकी छु।  कसैलाई दोष छैन। कसैले खोजीनिती पनि नगर्नु र मलाई पोष्टमार्डम पनि नगर्नु । मसित पैसा छैन। मसित थोरै सुन छ। त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनु। घरबेटीहरुलाई कसैले केही नगर्नु । र, अरुलाई पनि कसैले केही नगर्नु । मेरो लास जसरी हुन्छ, घरसम्म पु¥याइ दिनु। अप्ठेरोमा मेरो छोरालाई हेर्दिनु। 

छोरा चिन्ता नगर्नु है। यही सम्झिनु, मेरो आमा सानैमा मरेको हो । मन बुझाउनु। मलाई सबैले कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो । कतिबेला के हुन्छ, थाहा छैन मेरो जीवन। (अशुद्ध शब्दहरुलाई सम्पादन गरिएको छ।)

स्टाटस नै शंकास्पद 

सुसाइड नोटजस्तो देखिने मृतक सुनारको फेसबुक स्टाटस नै शंकास्पद देखिएको छ। राति उनकै कोठामा रहेको भनिएका श्रेष्ठले त्यहीँ भएर पनि केही थाहा पाइनँ र मोबाइलबारे केही जानकारी छैन भन्नुले पनि घटनालाई शंकास्पद बनाएको हो। ‘मेरो पोस्टमार्टम नगर्नुजस्ता शब्दहरु स्टाटसमा छन्। यसले पनि शंका उत्पन्न गराएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। 


प्रकाशित: Jun 26, 2022| 17:18 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।