काठमाडौं- पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल ‘प्याइप्सन’ को आयोजनामा बालबालिकामा हुने एलर्जी र दमका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा ४ असारमा सम्मेलन सम्पन्न भएको हो।
एलर्जी एक रोग हो र यसले गर्दा मानिसको जीवनमा दीर्घकालीन असर पर्नसक्छ भन्ने जनचेतना सर्वसाधारण र स्वास्थ्यकर्मीहरुमा न्यून भएकाले जनचेतना अभिवृद्धि गर्न र सही डाक्टरबाट बिरामीले उपचार सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले एलर्जी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको मेडिसिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जयचन्द्र बज्राचार्यले जानकारी दिए। एलर्जी शरीरका विभिन्न अंग जस्तै नाक, कान घाँटी, फोक्सो, पेट, आँखा आदिमा हुन सक्छ। सही उपचार नपाए बिरामीको जीवन कष्टकर मात्र नभई मृत्यु समेत हुन सक्ने विज्ञहरुको अनुभव छ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो, प्याइप्सनका अध्यक्ष डा. महेशकुमार गौतम, मेडिसिटी अस्पताल बोर्डका सल्लाहकार नविन कुमार, क्लिनिकल सर्भिसेज र एडुकेसनका प्रमुख डा. पनलमणी उपाध्याय, नाक, कान, घाँटी रोग विभागका प्रमुख डा. तोरण केसीलगायतको मुख्य उपस्थितीमा आयोजना गरिएको कार्यक्रम भौतिक रुपमा र अनलाइन दुवै रुपमा सञ्चालन भएको थियो।
कार्यक्रममा अमेरिकाका एलर्जी विशेषज्ञ डा. पीके वेदान्तन र डा. विनय मेहताले अनलाइन प्रस्तुति रहेको थियो भने भारतका प्रसिद्ध नाक, कान, घाँटी रोग विशेषज्ञ तथा एलर्जी विशेषज्ञ र बालरोग विशेषज्ञलगायतको उपस्थिती कार्यक्रममा रहेको थियो। बालबालिकाहरुमा समयमा नै एलर्जीको पहिचान र त्यसको उपचारका विषयमा मुख्यत केन्द्रित रहेको यस कार्यक्रमले नेपालको मात्र नभइ भारत र अन्य मुलुकहरुको अवस्थाबारे समेत बुझ्ने अवसर प्रदान गरेको आयोजकले दावी गरेको छ। सम्मेलनमा देशभरका विभिन्न स्थानका करिब १ सय डाक्टरको उपस्थिती रहेको थियो।
संघका सचिव तथा आँखा रोग विशेषज्ञ डा. तेज्सु सिंह मल्लले कार्यक्रम प्रभावकारी र जानकारीमूलक भएको बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गरिने जानकारी दिए। कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रेडियन्स अवेयरनेस पार्टनरको रुपमा रहेको थियो।
कार्यक्रममा आँखा रोग विशेषज्ञ डा. सञ्जिता सिटौला, छाला रोग विशेषज्ञ सबिना भट्टराई, नाक कान घाँटी रोग विशेषज्ञ प्रशान्त रिजाल, अमृत घिमिरे, दिपक गुप्ता, सतिश यादव, अनुप केसी, तोरण केसी, जगत जीवन घिमिरेले पनि एलर्जीको विषयमा प्रस्तुतीकरण गरेका थिए।