काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज संघीय संसद्मा बजेट प्रस्तुत गर्दैछ। अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्न लागेका हुन्।
आगामी आर्थिक वर्षका लागि १७ खर्बको हाराहारीमा बजेट आउने अनुमान गरिएको छ। यसैबीच स्वास्थ्यमा आगामी वर्षका लागि ६८ अर्ब १५ करोडको सिलिङ तोकिएको छ। सोही हाराहारीमा बजेट आउने अनुमान गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवका लागि ९० अर्ब ७५ करोड ४५ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि बजेट कम हुने निश्चित भएको छ। बजेटमा स्वास्थ्यका पूर्वाधार, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, डिजिटल हेल्थ कार्यक्रम, औषधि उत्पादनलाई प्रोत्साहन गर्नेगरी बजेट आउन लागेको जनाइएको छ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले पूर्वाधार क्षेत्रमा प्राथमिकता दिने तथा लोकप्रिय बन्ने केही कार्यक्रमको घोषणा गर्ने छ।