काठमाडौं- सुदूरपश्चिमको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३ सय शय्याको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए। गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ। यसै आर्थिक वर्षमा ३ सय शय्याको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसक्नु भएको छ। प्रधानमन्त्रीको निर्देशन अनुसार यसै आर्थिक बर्षदेखि अस्पताल सुरु हुन लागेको हो।
कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा. प्रमोद जोशी सदस्यसचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भइ स्थलतगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो।
उक्त कार्ययोजनाकै आधारमा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो। ‘हामीले गेटा मेडिकल कलेजको स्थलतगत अध्ययन गरेर कसरी छिटोभन्दा छिटो अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौं, सोही आधारमा यसै वर्षदेखि ३ सय शय्याको अस्पताल सञ्चालन हुने भएको हो’, डा.जोशीले भने।
मेडिकल कलेज सञ्चालनका लागि कम्तिमा ३ सय शय्याको अस्पताल ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार यस वर्षदेखि अस्पताल सञ्चालन गरिने भएको हो।
उक्त समितिले ७५ बिगा जमिनमा फैलिएको अस्पतालमा ढल, विजुली र पानीको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो। सोही सुझावका आधारमा आवश्यक सबै कामहरु यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो।
गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो। भौतिक संरचना निर्माण भएपछि तत्काल अस्पताल सञ्चालन गर्न नेतृ राणा विगत एक वर्षदेखि पहल गर्दै आएकी छन्। यसै आर्थिक बर्षको बजेटमा अस्पताल सञ्चालनका लागि माग भए अनुसारको २ अर्ब रुपैया बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गेटा मेडिकल कलेज सञ्चालनमा डा. देउवाले पटक-पटक विभिन्न बैठक, स्थलगत अध्ययन समिति बनाएर अगुवाई गरेपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत चैत ४ गते शिक्षा मन्त्रालयले तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
कम्तिमा ३ सय शय्या रहने गरी तत्काल अस्पताल सञ्चालन गर्न शिक्षा सचिवले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्ताव छलफल भइ स्वीकृत गरी सो काम छिटोभन्दा छिटो सुरु गर्न प्रधानमन्त्रीले निर्देशन गरेका थिए।
सरकारले गेटा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयका ११ तहको चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सृजना पनि गरेको छ। त्यसका साथै अन्य आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय गरेको छ। स्थानीय चुनावका कारण कार्यकारी निर्देशक नियुक्त लगायतका प्रक्रिया रोकिए पनि अब केही हप्तामै कर्मचारी नियुक्ती गरेर अस्पताल सञ्चालन हुने बताइएको छ।
‘यसै आर्थिक वर्षदेखि गेटा मेडिकल कलेज ३ सय शय्याको अस्पताल सञ्चालनमा आउँछ’, स्वास्थ्य सचिव डा. पोखरेलले भने। गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम विगत १० वर्षदेखि सुरु भएको थियो। भौतिक पूर्वाधार सम्पन्न भएपछि डा. देउवाको अगुवाईमा अस्पताल सञ्चालन हुन लागेको हो।
प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको नीति अनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो। गेटा सुरु भए लगत्तै सुदूरपश्चिम क्षेत्रका सयौले रोजगारी पाउनुका साथै सुदूरपश्चिमको विकासमा एउटा फड्को मार्ने बताइएको छ।