बुटवल- लुम्बिनी बौद्ध विश्वविद्यालय र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ। २०७९ जेठ १२ गते विश्वविद्यालयको सभाहलमा आयोजित एक समारोहकाबीच दुई संस्थाबीच सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद धितालले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनी र सिटी कलेज बुटवलमा स्नातक तहमा ट्राभल एन्ड टुरिजम विषयमा अध्ययनरत विद्यार्थी इन्टर्नसिपका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जानेछन्। चालु शैक्षिक सत्रमै १३ जना विद्यार्थी अन्तर्राष्ट्रिय विमानस्थलमा सिकाई अभ्यासमा खटिनेछन्।
दीगो पर्यटन विकासका लागि नागरिक उड्डन तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने संयुक्त उद्देश्य सहकार्यको रहेको छ। लुम्बिनी प्रदेशभित्रका पर्यटकीय क्षेत्र तथा बौद्ध स्मारकको प्रवर्द्धन गर्ने, नागरिक उड्डयन तथा पर्यटन उद्योग क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले सम्झौता गरिएको हो।
सम्झौतापछि दुवै संस्थाहरुबीच इन्टर्नसिप, स्वयंसेवक परिचालन, संयुक्त सभा गोष्ठी, अनुभव आदानप्रदान तथा पर्यटन एवं बौद्ध दर्शनसम्बन्धी विभिन्न समारोह हुनेछन्। विश्वविद्यालयले बिटीटीएमका विद्यार्थीलाई इन्टर्नसिप र भोट बुद्धिजम् र ग्रामीण विकासका विद्यार्थीलाई स्वयमसेवकको रुपमा विमानस्थलमा पठाउनेछ। गौतमबुद्ध विमानस्थलले नियमानुसार विद्यार्थीलाई इन्टर्नसिपमा सहभागी गराउनेछ। यो सहकार्य सम्झौता चार वर्षसम्म कायम रहनेछ।
सम्झौतामा हस्ताक्षर गर्ने समारोहमा विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख निरबहादुर गुरुङ, सिटी कलेज बुटवलका संयोजक बलबहादुर पाण्डे तथा गौतमबुद्ध विमानस्थल व्यवस्थापन विभाग प्रमुख हेमप्रसाद दाहालको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै बौद्ध विश्वविद्यालयका उपकुपति प्राडा हृदयरत्न बज्राचार्यले विश्वविद्यालय र विमानस्थलबीचको सम्झौताले बौद्ध क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए। विश्वविद्यालयका रजिस्ट्रार आचार्यले बौद्ध मुलुकका पर्यटक विमानस्थलमा आउँदा बौद्ध विश्वविद्यालयका विद्यार्थीले स्वयमसेवकका रुपमा सहयोग गर्ने वातावरणले सकारात्मक प्रभाव पार्ने बताए।
विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बौद्ध विश्वविद्यालयसंगको सहकार्यले लुम्बिनीमा बौद्ध देशहरुका पर्यटक आवागमनमा सहज हुने विश्वास व्यक्त गरे।