काठमाडौं- नेपालमा मंकीपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले न्युज एजेन्सीसँग कुराकानी गर्दै मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिन आग्रह गरे। विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्न उनको आग्रह छ। सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको उल्लेख गरे।
विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने मन्त्रालयको भनाइ छ। ‘विदेशबाट आउनेहरुले कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा बसिदिनुहोला। व्यक्तिगत सरसफाईको कुराहरु बढी महत्वपूर्ण छ। कुनै पनि चिजहरु सकेसम्म नछुने, छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ। यस्तो गर्दा हामीमा यदी भाइरस आएको छ भनेपनि निस्क्रिय भएर जान्छ,' प्रवक्ता डा अधिकारीले भने, 'कसैको शरीरबाट निस्किएका छिटा हाम्रो शरीरमा आई नपुगोस् र हामीबाट अरुको शरीरमा नपुगोस् भन्न मास्कको प्रयोग गर्नुपर्छ। कोही त्यो क्षेत्रबाट आएको व्यक्ति छ, जो ज्वरो आएको छ, शरीरमा फोका आएको छ, जिउ चिलाउने भएको छ भने तत्काल नजिकमा रहेको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्यौं भने त्यसको उपचार गर्न सहज हुन्छ र अरुलाई पनि सर्दैन।’
मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखा पर्छन्। यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न मन्त्रालयको आग्रह छ। मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत छ।
मंकीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जंगलमा रहेका जनावरको सम्पर्कमा आउने मानिसबाट सर्न सक्ने भाइरस हो। प्रायः मुसा प्रजातिका जनावरहरुमा यसको भाइरस रहन्छ। ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, र्याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो संक्रमण हुनसक्छ। यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्युन रहेको हालसम्मको अध्ययनले देखाएको छ। विश्वका ७ देशमा ३० जना भन्दा धेरै मानिसहरुमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण भई सरेको हुनसक्ने अनुमान छ। यसका अधिकांश लक्षण स्मल पक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ।