काठमाडौं– नर्सिङ क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हक अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले एक औेपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ ।
कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका सल्लाहकार नभिन कुमार, क्लिीनिकल सर्भिसका प्रमुख प्राडा निलमणी उपाध्याय, मेडिकल सुपरिन्टेन्डेन्ट डा जयेन्द्र बज्राचार्य र नर्सिङ्ग सेवाकि प्रमुख कोपिला श्रेष्ठ पालीखेको उपस्थितिमा नर्सहरुमा सम्मान प्रकट गर्दै थप हौसला बढाउनका लागी विभिन्न विषयमा चर्चा गरिएको थियो भने साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
कार्यक्रममा नर्सहरुले नेपाल मेडिसिटी अस्पताल जस्तो अन्तराष्ट्रिय स्तरको बहुआयमिक सेवा प्रदान गर्न र अत्याधुनिक प्रविधिमैत्री वातावरणमा काम गर्न पाएकोमा सुखद् अनुभव साटेका थिए। त्यस्तै, अस्पताल व्यवस्थापनका तर्फबाट प्रा डा नीलमणी उपाध्यायले नर्सहरु बिरामीहरुसँग सबैभन्दा नजिक रहेर उपचार सेवा प्रदान गर्ने सेवा प्रवाहक रहेको र उनीहरुको सुरक्षा र प्रबद्र्घन गर्न अस्पताल सधै क्रियाशील रहेको प्रतिक्रिया दिएका छन्।
नर्सिङ सेवाकी प्रमुख कोपिला श्रेष्ठ पालीखेले नर्सिङ्ग पेशा एक पवित्र र सेवाभावले पूर्ण पेशा रहेकाले यसको संरक्षण एवम् प्रर्वद्धन आवश्यक रहेको बताइन्। आधुनिक नर्सिङकी पहलकर्ता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२ का दिनलाई अन्तराष्ट्रिय नर्स दिवसका रुपमा मनाउँदै आइएको हो। सन् २०२२का लागि नर्सिङ दिवसको नारा यस क्षेत्रमा लगानी र विश्वव्यापी स्वास्थ्य क्षेत्रको विकासका लागि नर्सहरुको हकअधिकार सुनिश्चित गर्नेबारे रहेको छ ।