काठमाडौं– टोखा नगरपालिका ५ बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालले यही वैशाख २४ देखि आफ्नै नयाँ भवनबाट सेवा दिन थालेको छ। हाल रहेको अस्पताल भवनको २५० मिटरपछाडि श्री टोलमा साढे ६ रोपनीको आफ्नै जग्गामा १ सय शय्यासम्म क्षमता रहेको बिरामी र वातावरणमैत्री, अत्याधुनिक ८ तलाको भवनबाट अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने जनाएको छ।
अस्पतालले समयसापेक्ष सुविधा तथा क्षमतावृद्धि गर्ने योजनाअनुरुप बालरोग, बालसर्जरी, बाल युरोलोजी, महिला तथा वयस्कका अन्य विशेषज्ञसेवा उपलब्ध गराउने जनाएको छ। अस्पतालमा चौबिसै घण्टा पेडियाट्रिक रजिस्ट्रारहरुबाट पेडियाट्रिक आकस्मिक सेवा र महिला तथा प्रसुतीसम्बन्धी आकस्मिक सेवा पनि उपलब्ध हुनुका साथै एम्बुलेन्स, प्याथोलोजी, एक्सरे, फार्मेसी सेवा पनि उपलबध हुने र छिट्टै ब्लड बैंकको पनि सुविधा सुरु हुने अस्पतालका निर्देशक डा रामनन्दनप्रसाद चौधरीले जनाएका छन्।
यस्तै, चाँडै नै सीटीस्क्यान सुविधा सुरु हुन लागेको उल्लेख गर्दै चौधरीले अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजना रहेको बताएका छन्। हाल अस्पतालमा बालरोग विशेषज्ञहरुबाट बिहान ७ बजदेखि बेलुकी ८ बजेसम्म उपलब्ध ओपीडी सेवा, बाल नाक कान घाँटी, बाल आँखारोग, बाल हेमाटोलोजी अंकोलोजी उपचार, बाल ग्यास्ट्रो इन्टेरोलोजी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, बाल नेफ्रोलोजी, बाल पल्मोनोलोजी उपचार, एनआइसीयू, पिआइसीयू, एचडीयु, लगायतका सेवा रहेको अस्पतालले जनाएको छ।