काठमाडौं– निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय शिक्षा मन्त्रालयले गरेको छ। बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने निर्णय गरेको हो।
दुई दिन बिदा दिए पनि विद्यालय समय भने बढाइएको छैन। बरु शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ। त्यसैगरी हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिनमात्रै बिदा दिन पाइने भएको छ।
यसअघि सरकारी विद्यालयमा हिउँदे र वर्षे बिदा गरी ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी ५० दिन बिदा पाउने व्यवस्था थियो। अब यी सबै बिदा कटौती गरी वार्षिक ३० दिनमात्रै बिदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ।
सरकारले हालैमात्र जेठ १ गतेदेखि लागू हुनेगरी सातामा दुई दिन सार्वजनिक बिदाको निर्णय गरेको थियो।