काठमाडौं- नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा कर्मचारीका सन्ततिका लागि छात्रवृत्ति कार्यक्रम सुरु भएको छ। ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरिएको बैंकले सोमबार जानकारी दिएको हो।
नबिल बैंकका कर्मचारीका सन्ततिमध्ये १२ कक्षामा उत्कृष्ट नतिजा ल्याउने ४ जनालाई उक्त छात्रवृत्ति दिइनेछ। उत्कृष्ट नतिजा ल्याउने २ जना छात्र र २ जना छात्रालाई प्रत्येक वर्ष यो छात्रवृत्ति दिइने छ। छात्रवृत्तिको राशि ५० हजार रुपैयाँ छ।
स्व. पौड्यालले बैंकमा लामो समयदेखि सञ्चालक समितिमा योगदान गर्दै आएका थिए।
उनिका खनाल (कर्मचारी उदय राज खनालकी छोरी), दिपसन भट्टराई (कर्मचारी सन्देश राज भट्टराईका छोरा), मुकुल अर्याल (कर्मचारी मुरारी प्रसाद अर्यालका छोरा) पुरस्कृत भएका छन्।
बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरु, पूर्व अध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरुलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए।
छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले स्व शम्भु प्रसाद पौड्यालले बैंकलाई पुर्याएको लामो योगदानको उच्च प्रशंशा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको जनाए। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको वृद्धि र विकासका लागि स्व. पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए।