बुधबार, जेठ ८, २०८२

यसकारण फुक्यो खेलाडी-अलमुताइरी सम्बन्धको धागो

खेलाडीलाई कुनै विषयमा बाहिर बोल्न पनि प्रतिबन्ध लगाइदिएका छन्। साफ फाइनलमा नेपालले हार बेहोरेपछि प्रशिक्षक अलमुताइरीले खेलाडीलाई खाना खान पनि दिएका थिएनन् भन्‍ने गाइँगुइँ फुटबल वृत्तमा चलेको थियो
 |  बिहीबार, वैशाख १५, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को होस्टेलमा पानी राम्रो छैन। त्यहाँ दैनिक बसोबासका लागि सामान पनि पर्याप्त छैनन्। एन्फाले खानाको राम्रो प्रबन्ध त गरेको छ तर सुत्‍ने गद्दी गतिलो छैन। कति खेलाडीलाई सामान्य चोट पनि छ। कति ठूलो चोटबाट भर्खरै निको भएर आएका छन्। अभ्यासले थाकेको शरीरमा केही कुरा नपुगेजस्तो लागेपछि टिमका खेलाडीहरुले सोचे यहाँभन्दा होटेलमा अलि राम्रो होला कि?

यहि कुरा उनीहरुले टिमका उपकप्तान रोहित चन्दद्वारा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसमक्ष राखे। रोहितले भनेको कोचले मानेनन्। अहिले नेपाली सिनियर टिमका कप्तान किरण चेम्जोङ व्यवसायिक खेलको क्रममा माल्दिभ्समा छन्। किरण नभएपछि रोहितले यो कुरा राखेका थिए। अलुमताइरीले यो विचार रोहित एक्लैको हो भन्‍ने सोचेर उनलाई टिमबाटै बाहिर पठाएका थिए। रोहित गत सोमबार नै टिमबाट बाहिरिए।

पछि रोहितले भनेको कुरा सबै खेलाडीको प्रतिनिधि विचार थियो भन्‍ने थाहा पाएपछि अलमुताइरीले १० खेलाडीलाई बोलाएर सोधुपुछ गरे। सुरुमा एक खेलाडी प्रतिनिधिका रुपमा गएका थिए भने पछि बाँकी ९ जना पनि गए। त्यो समयमा पनि कुरा नमिलेपछि अलमुताइरीले नौ जानै खेलाडीलाई ‘बाहिर जा’ भनेका थिए। 

उनीहरु गए तर यसबारे सामाजिक सञ्‍जालमा जसरी समर्थकहरु ओइरिए, खेलाडीको मन पिरोलियो। ‘खेलाडीको विद्रोह', 'भगौडा खेलाडी', 'बन्द प्रशिक्षणबाट भागे’ भन्‍ने शब्दले खेलाडीको मन पोल्यो। त्यसैले उनीहरुले बिहीबार साँझ पत्रकार सम्मेलनको गरे।

‘हामीले त चाहेका थियौँ कि यो विषय एन्फाले भित्र-भित्रै मिलाओस्। मिल्ने कुरा पनि त थियो। खेलाडी आफैंले अध्यक्ष कर्माछिरिङ शेर्पासँग कुरा गरेका थिए। शेर्पाले चुनाव आइरहेको छ। यो विषयमा केही गर्न सक्दिनँ भन्‍नुभयो,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा गोलकिपर विशाल श्रेष्ठले भने। आफूले केही गर्न नसक्ने भन्दै अध्यक्ष शेर्पा खेलाडीबाट पन्छिए। 

त्यसपछि खेलाडीले एन्फा छोडेका हुन्। पछि फुटबल खेलाडी संघबाट पनि यो कुरा एन्फासम्म पुर्‍याएको संघका अध्यक्ष विक्रम लामाले बताए। तर त्यहाँबाट केही जवाफ आएन।

‘टिमभित्र के-के भएको छ? हामीलाई कसरी टिमबाट बाहिरिने अवस्थामा पुर्‍याइयो? यसबारे छानबिन हुनुपर्छ। हामी एन्फालाई सत्यतथ्य छानबिन गर्न र दोषी देखिए जो कोहीलाई पनि कारबाही गर्नका लागि अनुरोध गर्दछौं,’ पत्रकार सम्मेलनमा अनन्तले भने। 

राष्ट्रिय टिमका १० खेलाडी सम्मिलित पत्रकार सम्मेलनमा ‘अब अलमुताइरीसँग खेल्न गाह्रो हुने’ निष्कर्ष पनि सुनाए। कुनै पनि खेलाडीले उनीसँग नखेल्ने भनेर सीधै भन्न नसके पनि घुमाउरो पारामा उनीहरुले खेल्न नसक्ने निष्कर्ष निकालेका हुन्।

हामीले त चाहेका थियौँ कि यो विषय एन्फाले भित्र-भित्रै मिलाओस्। मिल्ने कुरा पनि त थियो। खेलाडी आफैंले अध्यक्ष कर्माछिरिङ शेर्पासँग कुरा गरेका थिए। शेर्पाले चुनाव आइरहेको छ। यो विषयमा केही गर्न सक्दिनँ भन्‍नुभयो

‘अलमुताइरीको प्रशिक्षणका विषयमा हामी केही भन्‍ने सक्दैनौं। यसबारे हामीलाई असन्तुष्टि छैन। तर एक मानिसका हिसाबले अलमुताइरीको व्यवहार हामीलाई सह्य भएन,’ अनन्तले थपे। त्यसैले अहिलेसम्म पत्रकार सम्मेलनमा पनि आफूहरुले स्वतन्त्र भएर बोल्न नपाएको कुरा खेलाडीले उठाएका छन्।

‘हामीलाई समर्थकबाट टाढा राखिएको छ। फेसबुकमा के राख्‍ने भन्ने कुरा उहाँलाई नै सोध्नुपर्छ। मिडियासँग बोल्नुअघि पनि अनुमति लिनुपर्छ। उहाँले पोस्ट गरेपछि सेयर गर्नुपर्छ,’ अनन्तले भने, ‘त्यति सानो कुरामा फरक पर्‍यो भने पनि मसँग जति पनि विकल्पहरु छन्। तिमी मात्र छैनौं भनेर धम्कीको शैली प्रयोग गर्नुहुन्छ। यस्तो त विश्व फुटबलमा कतै पाइँदैन होला।’

खेलाडीले प्रेस विज्ञप्तिकै एक अनुच्छेदमा लेखेका छन्, ‘प्रशिक्षकसँगको मिटिङका लागि हामी नौ जना गयौँ। उहाँ (अलमुताइरी)ले एकपक्षीय रुपमा आफ्नो धारणा प्रस्तुत गर्दै क्याम्प छोडन् निर्देशन दिनुभयो। उहाँले आफू रहुन्जेल हामी कोही पनि राष्ट्रिय टिममा नपर्ने बताउनुभयो। तिमीहरुले युद्ध सुरु गर्‍यौं, मैले यसको अन्त्य गरेँ भनेर प्रशिक्षकले भन्‍नुभयो। उहाँले त्यसपछि आफू पनि मिडियामा नजाने र हामीलाई पनि मिडियामा नजान निर्देशन दिनुभयो।’

...अनि हाबी भए अलमुताइरी

त्यसो त, नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त भएपछि नेपाली फुटबल र नेपाली टिम जहिल्यै चर्चाको शिखरमा रहने गरेको छ। यसअघि सबै खेलाडीले प्रशिक्षक अलमुताइरीको तारिफ पनि गरिरहेका थिए।

यता खेलाडीको सामाजिक सञ्‍जाल नियन्त्रण गरिरहेका अलमुताइरीले भने आफ्नो सामाजिक सञ्‍जालमा चाहेका कुनै पनि कुरा लेखिरहेका हुन्छन्। खेलाडीलाई समर्थकहरुसँग जोडिन नदिने तर आफूचाहीँ सबै समर्थकसँग कुरा गरिरहेका छन्।

‘एउटै कुरा खेलाडीका लागि गलत प्रशिक्षकका लागि सही कसरी भयो?,’ खेलाडीको प्रश्न छ। उनले सामाजिक सञ्‍जालबाटै धेरै ‘सेन्टिमेन्ट’ बटुलेका छन्। त्यसैले अहिले सबै फुटबल समर्थकहरु उनकै पक्षमा देखिएका छन्। तर उनले फेसबुकलाई आधार बनाएर कसरी आफूलाई बलियो र खेलाडीलाई कमजोर बनाइरहेका छन्, त्यो कुरा थोरै मानिसले मात्र याद गरेका भन्दै खेलाडीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। 

त्यति मात्र होइन, अलमुताइरीले आफूसँग सबै फुटबल प्रशिक्षकले सिक्नुपर्ने भन्‍ने खालका कुरा नेपाली क्लबका प्रशिक्षककसँग गर्दै आएको प्रशिक्षहकहरु नै बताउँछन्। अलमुताइरी 'प्रो-लाइसेन्स होल्डर' प्रशिक्षक हुन्। अहिलेसम्म नेपालका कुनै पनि प्रशिक्षकले 'प्रो-लाइसेन्स' लिएका छैनन्।

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा 'प्रो-लाइसेन्स' प्रशिक्षक अनिवार्य रहेको कारण एन्फाले २०७६ चैतमा अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। त्यसयता उनले नेपाली टिममा धेरै परिवर्तन गरिसकेका छन्। उनले डेढ वर्षको दौरानमा दर्जन खेलाडीलाई नेपाली सिनियर टिममा डेब्यु गराएका छन्।

यता, खेलाडीहरुले चाहीँ प्रशिक्षक अलमुताइरी राष्ट्रिय टिमका सबै खेलाडीलाई प्रशिक्षकजस्तो मात्र नलाग्‍ने बाबुजस्तो लाग्‍नेभन्दै व्याख्या गर्दै आएका थिए। सुरुमै खेलाडीको मन जितेपछि प्रशिक्षक अलमुताइरी विस्तारै खेलाडीमाथि हाबी हुँदै गए। 

खेलाडीलाई कुनै विषयमा बाहिर बोल्न पनि प्रतिबन्ध लगाइदिएका छन्। साफ फाइनलमा नेपालले हार बेहोरेपछि प्रशिक्षक अलमुताइरीले खेलाडीलाई खाना खान पनि दिएका थिएनन् भन्‍ने गाइँगुइँ फुटबल वृत्तमा चलेको थियो

के खेलाडीमाथि प्रशिक्षकले पूर्ण नियन्त्रण गरिरहेका छन्? जवाफमा सेन्ट्रल डिफेन्डर अनन्त तामाङ भन्छन्, ‘हामी सुरुबाटै नियन्त्रणमा छौं।’ प्रशिक्षकले नियन्त्रणमा राख्नु त ठिकै हो। तर उनले खेलाडीको ट्याटूदेखि लगाएको पाइन्टसम्मको निगरानी गरिरहेका छन्।

‘यदि कुनै खेलाडीले मासमा फ्यानसँग तस्बिर खिचेर सामाजिक सञ्‍जालमा पोस्ट गर्‍यो भने म त्यो खेलाडीलाई टिममै राख्दिनँ,’ अलुमताइरीले एसिया कपको तयारीबारे जानकारी दिन बोलाइएको पत्रकार सम्मेलनपछिको गफगाफमा भनेका थिए। उनले त्यति मात्र होइन, खेलाडीलाई कुनै विषयमा बाहिर बोल्न पनि प्रतिबन्ध लगाइदिएका छन्। साफ फाइनलमा नेपालले हार बेहोरेपछि प्रशिक्षक अलमुताइरीले खेलाडीलाई खाना खान पनि दिएका थिएनन् भन्‍ने गाइँगुइँ फुटबल वृत्तमा चलेको थियो। 

तर, पछिल्लो विवादले धेरै चर्चा पाइसकेको छ। यसपटक १२ जना सिनियर खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट बाहिरिएपछि विवादले चर्चा पाएको हो। यो विषय भनेको खेलाडी होटेलमा राख्‍ने विषयबाट विवाद सुरु भएको हो। 

खासमा यो कुरा खेलाडीहरुले प्रशिक्षकलाई भन्दा पनि टिम म्यानेजरलाई राख्नुपर्ने थियो। तर, अलमुताइरीले सबै कुरा पहिला थाहा पाउनुपर्छ। आफूलाई थाहा नदिइ कुनै कुरा गरेमा टिममा नराख्‍ने थ्रेट अलमुताइरीले दिँदै आएका छन्। यो कुराले खेलाडीलाई जहिल्यै तनाव बनाउने गरेको छ। त्यसैले खेलाडीले यो कुरा पहिले अलमुताइरीलाई नै भनेका थिए।

टिमका प्रशिक्षक हुन्, मधुसुधन उपाध्याय। उनी चाहिँ खलाडीको समस्या सुन्‍न नपरे हुन्थ्यो भन्‍ने खालका रहेको खेलाडीको भनाइ छ। ‘हामीले कति खेलको भत्ता पाएको छैन। वर्षमा छ महिना जतिको मात्र तलब आउँछ। हामीले यो विषयमा कहिले बोलेका छैनौं। र, बोल्दैनौं पनि। तर, यही विषयमा कुरा गर्लान् भनेर उहाँ छड्किने गर्नुभएको छ। यस कारणले हामीले उहाँलाई यो कुरा भन्‍न खोज्दा-खोज्दै पनि भन्ने सकेनौँ,’ मिडफिल्डर सुजल श्रेष्ठले भने, ‘हामीले धेरै डिमान्ड पनि गरेको होइन। आधारभूत आवश्यकता चाहीँ पुर्‍याइ देऊ भनेको हो।’

विवाद खोतल्दै जाँदा...

एन्फाको चुनाव असार ६ गते हुँदैछ। त्यसका लागि एन्फाका सबै पदाधिकारी लागेका छन्। सी डिभिजन क्लबले पनि चुनावमा मताधिकार पाएको छ। त्यसमा रोहित चन्दको दाईको टिम पनि सामेल भएको छ। उनको दाईको टिमलाई भने पंकज विक्रम नेम्बाङ (प्रतिपक्ष) को भोटरका रुपमा हेरिएको छ। त्यसैले त्यो  चुनावलाई प्रभाव पार्नका लागि यो कुरा भएको त होइन भन्ने आशंका पनि उब्जिएको छ। 

तर, यो कुरालाई रोहितले खण्डन गरेका छन्। ‘त्यस्तो होइन। दाईको आफ्नो काम गर्ने ठाउँ छ। हामी त सबै खेलाडी भइहाल्यौँ। यो विषय र एन्फाको चुनावको विषयमा केही सम्बन्ध छैन,’ उनले भने।

फिफाले कुनै पनि खेलका चार दिनअघि खेल हुने ठाउँमा पुगे हुने नियम राखेको छ। साफ च्याम्पियनसिप सुरु हुनुअघि पनि रोहित चन्द थाइल्यान्ड मै थिए। उनी पर्सिजा जकार्ता टिमबाट त्यहाँ फुटबल खेलिरहेका थिए।

अलमुताइरीले रोहितलाई २७ तारिखभित्र टिममा सामेल हुन भनेका थिए। तर रोहितको २७ तारिख खेल थियो। उनी एक दिन ढिलो गरेर २८ मा आउने जानकारी दिए।

एक दिन ढिलो हुने भएपछि अलमुताइरीले रोहितलाई साफ च्याम्पियनसिपको टिममै नराख्‍ने निधो गरे। उनले खेलाडीलाई सोधे- रोहितलाई म हटाउँदैछु। केही फरक पर्छ ? त्यतिबेला सबै खेलाडीले पर्छ भनेका थिए।

‘रोहित भएमा टिममा आत्मविश्वास पनि बढ्छ। टिम बलियो पनि हुन्छ भनेर हामीले भनेका थियौँ,’ मिडफिल्डर विशाल राईले भने। खासमा रोहितसँग अलमुताइरी त्यो समयदेखि रिसाएका हुन्। र, त्यही कारण उनले रोहितको कुरा नमानेको सिधै अनुमान लगाउन सकिन्छ। त्यति मात्र होइन, उनले आफ्नो टिममा बस्‍ने कि रोहितको भनेर सबै खेलाडीलाई चुन्‍न पनि लगाएका थिए।

रोहित र आलुमताइरीको त्यो घटनापछि अन्य मैत्रीपूर्ण खेलमा उनी छैनन्। खासमा टिमले उनलाई रिलिज नदिएपछि रोहितले पछिल्लो तीन खेल गुमाएका हुन्। तर, अहिले खेलाडीले रोहितलाई टिममा राख्‍नैपर्छ भनेर जिद्दी गरेका छैनन्। प्रशिक्षकको आफ्नो अधिकार हो र हामी उनको रणनीतिमा पर्दैनौं भनेर टिम छोड्नै पर्छ। त्यसैले रोहितलाई राख्‍नैपर्छ भन्‍ने दबाब अहिले पनि नदिएको खेलाडीले बताएका छन्।

टिमबाट बाहिरिएका खेलाडीको अलमुताइरीसँग र अलमुताइरीको टिमबाट बाहिरिएका खेलाडीसँगको विश्वास भंग भएको छ।

यता किरण नेपालमा नभए पनि उनले खेलाडीलाई नै सपोर्ट गरेका छन्। उनले प्रशिक्षकलाई पनि समर्थन गर्न सक्थे। तर गरेनन्। उनले नै सामाजिक सञ्‍जालमा सबैभन्दा पहिले यो कुरा लेख्‍ने आँट गरे। त्यसले खेलाडी र प्रशिक्षकको टसल अहिले मात्र नभएर पहिलेबाटै रहेको बुझाउँछ।

अहिले बन्द प्रशिक्षणमै रहेका र त्यहाँबाट नबाहिरिएका खेलाडीले पनि अलमुताइरीविरुद्ध फेसबुकमा स्टाटस पोस्ट गरिसकेका छन्।

अलमुताइरीदेखि कति रुष्ट छन् खेलाडी?

अलमुताइरीको प्रशिक्षण कलामा खेलाडीको केही गुनासो छैन। तर उनको व्यवहारदेखि खेलाडी आजित छन्। फुटबल टिम गेम हो। सबैका आ-आफ्नै भूमिका हुन्छन्। तर अलमुताइरी सबै कुरामा आफैं अघि सर्ने गरेका छन्। त्यति मात्र होइन, उनी पत्रकार सम्मेलनमा पनि आफैं खेलाडी लिएर आउने गरेका छन्।

अब के हुन्छ? 

यस प्रश्नको जवाफ अहिले खेलाडीसँग छैन। ‘टिमबाट बाहिरिएका खेलाडीको अलमुताइरीसँग र अलमुताइरीको टिमबाट बाहिरिएका खेलाडीसँगको विश्वास भंग भइसकेको’ खेलाडीको तर्क छ।

तर, यो विषयमा अहिलेसम्म अलमुताइरीले केही बोलेका छैनन्। उनले १४ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। प्रशिक्षणको समयमा एन्फाले पत्रकारलाई दशरथ रंगशालामा बोलाएको थियो। तर, त्यहाँ पनि अलमुताइरीले मिडियासँग कुरा नगर्ने बताएका छन्।

यता एन्फाका महासचिव इन्द्रमान तुलाधरले नेपालको टिम अलमुताइरीलाई जिम्मा दिइसकेको अवस्थामा संघले बिचमा अबरोध नगर्ने बताएका छन्। उनले खेलाडीले होटेल वा एन्फा कम्लेक्स जे सजिलो हुन्छ, त्यसमै बस्‍न सकिने पनि बताएका छन्। महासचिव इन्द्रमानले होटेल वा होस्टेलको विवाद हो कि खेलाडी र प्रशिक्षकबीच 'इगो'को विवाद हो त्यो बुझेर अघि बढ्ने बताएका छन्।

यता खेलाडीले चाहीँ आफूलाई पीडितको संज्ञा दिएका छन्। साथै उनीहरुले लामो समयसम्म अलमुताइरीको सामना गर्नुपरेको र त्यो मनभित्र राख्‍न नसकेर अन्तिममा बाहिरिएको बताएका छन्।


प्रकाशित: Apr 28, 2022| 21:13 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।