काठमाडौं– धनगढी उपमहानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई कडा प्रतिस्पर्धिको रुपमा हेरिएको छ। ‘सुन्दर सुदूरपश्चिम’ अभियानका अभियन्तासमेत रहेका हमाललाई विभिन्न राजनीतिक दलले आफ्नो कडा प्रतिस्पर्धिको रुपमा लिएका छन्।
२०७४ सालको निर्वाचनमा पनि स्वतन्त्र मेयरका प्रत्यासी हमाल नेपाली कांग्रेसका नृप वडसँग पराजित भएका थिए। तत्कालिन समयमा हमाल वडसँग २ हजार ७ सय ९७ मतले मात्र पराजित भएका थिए। मेयरमा वडले १४ हजार ३ सय २४ मत ल्याउँदा हमालले ११ हजार ५ सय २७ मत प्राप्त गरेका थिए। उपमेयरमा पनि कांग्रेस नेतृ सुशीला मिश्र भट्ट विजयी बनेकी थिइन्।
यस पटक पनि पुरानै दृश्य देखिने सम्भावना बढेको छ। कांग्रेसले पुनः मेयरमा नृप वडलाई दोहोर्याएको छ भने हमालले पनि स्वतन्त्र उम्मेदवारी पेस गरेका छन्। यस पटक पनि वड र हमालबीच रोचक चुनावी प्रतिस्पर्धा हुने उपमहानगरवासीको आकलन छ।
स्थानीय शिद्धराज पनेरु यस पटक हमालले जित्नेमा कुनै दुविधा नभएको दाबी गर्छन्। ‘उहाँसँग म ३६ वर्षदेखि सँगै छु। सधैं गोपाल दाइले धनगढी र सुदूरपश्चिको विकासमा चिन्तन गर्नुहुन्छ,’ उनले भने, ‘२०४२ सालमा उहाँ वनदेखी क्लबको अध्यक्ष हुनुहुन्थ्यो। धनगढीमा रक्तसञ्चार स्थापनार्थ नारायण गोपाललाई बोलाएर च्यारिटी सो गर्नु भएको थियो। पछि धनगढीमा रक्तसञ्चार स्थापना भयो। यसरी हेर्ने हो भने उहाँमा सानैदेखि सामाजिक सेवाको भावना थियो।’ उनले हमालकै टिमबाट आफू पनि ४ नम्बर वडामा अध्यक्षको स्वतन्त्र उम्मेदवार रहेको बताए। हमालको समाजसेवाबाट प्रभावित भएर आफूले उनको टिमबाट स्वतन्त्र उम्मेदवारी दिएको पनेरुले सुनाए।
२०७४ सालको निर्वाचनमा पनि स्वतन्त्र मेयरका प्रत्यासी हमाल नेपाली कांग्रेसका नृप वडसँग पराजित भएका थिए। तत्कालिन समयमा हमाल वडसँग २ हजार ७ सय ९७ मतले मात्र पराजित भएका थिए।
हमाल सफल उद्योगपति समेत हुन्। उनले दिनेश ग्रुपबाट थुप्रै उद्योग व्यवसाय सञ्चालन गरेका छन्। जसमा सयौं जना रोजगार छन्। उद्योग वाणिज्य संघ कैलालीको अध्यक्ष हुँदा हमालले सुन्दर सुदूरपश्चिम अभियान थालेका हुन्।
अपी, सैपाल, घोडाघोटी, खप्तडलगायत थुप्रै धार्मिक र पर्यटकीय स्थलको अडियो तथा भिडियोग्राफिका माध्यमले सुदूपश्चिमको धार्मिक र पर्यटकीय सम्भाव्यतालाई उनले विश्वसामु पुर्याउने प्रयास उनले गरेका थिए।
२०७४ सालको चुनावमा पराजित हुँदा पनि सधैँ हमाल जनताको घरदैलोमा पुगेको बताउँछन्। ‘उहाँ सधैं धनगढीवासीको मर्दापर्दाको सारथी बनेर उभिनु भएको छ। ३० लाखमा शव बाहन खरिद गरेर सञ्चालन गरिरहनु भएको छ। तेल, चालकको खर्चलगायत सबै उहाँले नै बेहोरिरहनु भएको छ,’ पनेरुले भने, ‘उहाँ कोही बिरामी परेको थाहा पाउँदा सहयोग गर्न पुगिहाल्नुहुन्छ। कसैको मृत्यु भएको थाहा पाउँदा श्रद्धाञ्जली अर्पणका लागि पुग्नुहुन्छ। धनगढीले यस्तै जनताको सेवा गर्ने मेयर खोजेको हो।’
यसका साथै हमाल आफैं सफल व्यावसायी भएकाले धनगढीको विकासले काचुनी फेर्ने उनी बताउँछन्। हमालको योजनावद्ध काम गर्ने शैलीका कारण धनगढीले विकासमा काँचुली फेर्नेमा आफू विश्वस्त रहेको उनले बताए। हमालले निःशुल्क कपडा बैंकको समेत सञ्चालन गरेका छन्। आर्थिक अवस्था कमजोर भएका जोसुकै व्यक्तिले कपडा बैंकबाट निःशुल्क कपडा लिन सक्छन्।
नेपाली कांग्रेस भने आफ्नो प्रतिस्पर्धा हमालसँग नहुने दाबी गर्छ। कांग्रेस कैलाली क्षेत्र नम्बर ६ का सभापति भीम पडालले आफूहरूको प्रतिस्पर्धा एमालेसँग हुने दाबी गर्छन्। ‘हाम्रो संगठन बलियो छ। गाउँ–गाउँमा हामीले बलियो संगठन बनाएका छौं। विकास निर्माणका काम गरेका छौं। जनताको घर–घरमा पुगेर मन–मनमा बस्ने काम गरेका छौं। त्यसैले हाम्रो जित निश्चित छ,’ उनले भने। उनले उपमहानगरका १९ वटै वडामा मिलाएर टिकट वितरण गरिएकाले पार्टीमा पनि कुनै विवाद नरहेको दाबी गरे।
नेपाली कांग्रेस भने आफ्नो प्रतिस्पर्धा हमालसँग नहुने दाबी गर्छ। कांग्रेस कैलाली क्षेत्र नम्बर ६ का सभापति भीम पडालले आफूहरूको प्रतिस्पर्धा एमालेसँग हुने दाबी गर्छन्।
‘टिकटको चाहना धेरैको हुन्छ। तर, टिकट प्राप्त गर्ने थोरै हुन्छन्। त्यसैले यसमा विवाद गर्नु हुँदैन। एकमत भएर पार्टीलाई सहयोग गर्नुपर्छ,’ उनले भने। नृप वडले कोरोना महामारीका बीच पनि थुप्रै राम्रा काम गरेर देशशै उत्कृष्ठ उपमहानगर बनाएकाले २०७४ को चुनावभन्दा यो पटक माहोल निकै राम्रो भएको उनको दाबी छ।
वडको सरल, सहज र विकासप्रेमी छविका कारण धनगढीमा कांग्रेसलाई जित्न गाह्रो नहुने पडालले दाबी गरे। तर, हमालले यस पटक उपमहानगरवासीको रोजाइमा आफू पर्ने दाबी गरेका छन्। उनले आफूले अधिल्लो चुनावमा ल्याएको मतले ‘क्वालिफायर राउन्ड’ पार गरे जस्तै भएको र अब चुनाव जित्ने दाबी गरे। उनले आफू पूर्णकालीन राजनीति गर्ने व्यक्ति नभएको र धनगढीको विकास गर्ने सपना बोकेको व्यक्ति भएको बताएका छन्।
‘मलाई पदको लोभ छैन। काम गरेर देखाउनु छ। धनगढीलाई सुन्दर र नमुना उपमहानगर बनाउनु छ। मलाई मेरो ठाउँले धेरै कुरा दिएको छ। अब धनगढीलाई केही दिन चाहन्छु,’ हमालले भने। उनले धनगढीको मुहार फेर्ने योजना आफूसँग रहेको दाबी गरेका छन्। सोही अनुरुप काम गरेर धनगढीको मुहार फेर्ने उनको दाबी छ। उनले मेयरमा विजयी भइसकेपछि राज्यको कुनै पनि सेवासुविधा नलिने बताए।
‘म भत्ता लिन्न, कुनै सेवासुविधा लिन्न। गाडी मेरो आफ्नै हुन्छ। अरु खर्च आफ्नै हुन्छ। जितेँ भने देशका विभिन्न स्थानमा पुग्नुपर्ला, त्यसमा लाग्ने खर्च पनि लिन्नन। पद बाहेक मेरो खर्च व्यक्तिगत रुपमा नै गर्ने छु। मलाई त केबल धनगढीको मुहार फेर्नु छ’, उनले भने।
उनले नेताहरूलाई कल्याणकारी राजनीति कस्तो हुन्छ भनेर आफूले देखाउन चाहेको बताएका छन्। विभिन्न राजनीतिक दलका नेताहरूले आफूले जित्ने दाबी गरे पनि वैशाख ३० मा कसले जित्छ भन्ने निर्धारण धनगढीका ९३ हजार १ सय ५१ जना मतदाताले निर्धारण गर्नेछन्।