काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २५५ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ७४३ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १८१ रहेको छ। पछिल्लो समय थप २५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ५२३ पुगेको छ। यो दर ९८ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ। त्यसैगरी पछिल्लो समय ४८ हजार ९४ ले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३६९ रहेको छ। अहिले होम आइसोलेशनमा २६७ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा दुई जना रहेका छन्। आइसीयूमा र भेन्टिलेटरमा कोभिड सङ्क्रमित बिरामी छैनन्।