काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को महानिर्देशक डा टेड्रोस अधानोम घेब्रयसस र स्वास्थ्य मन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ। स्वास्थ्य मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
भेटमा स्वास्थ्यमन्त्री खतिवडाले टेड्रोसलाई दोस्रो कार्यकालका लागि महानिर्देशक बनाउन नेपालले समर्थन गर्ने जानकारी गराएका थिए। 'दोस्रो कार्यकालका लागि यहाँलाई समर्थन गर्छौँ। यहाँलाई शुभकामना दिन्छौँ। आफ्नो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने क्रममा यहाँलाई हामीले सक्दो समर्थन र सहयोग गर्नेछौँ,' डा टेड्रोसलाई खतिवडाले भनेका थिए।
मातृशिशु स्वास्थ्य र क्यान्सर सेवाका लागि सहयोग गर्न नेपालले सहयोग गर्न प्रस्ताव गरेको त्यसमा संगठनले प्रतिबद्धता व्यक्त गरेको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए।
डा टेड्रोस तीन दिने नेपाल भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं अवरतण भएका छन्। उनले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलगायतसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ।