शुक्रबार, जेठ २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • 'मर्न चाहन्‍नँ' भन्दै दाइलाई म्यासेज पठाएको आधा घण्टा पनि बाँचिनन् अमृता

'मर्न चाहन्‍नँ' भन्दै दाइलाई म्यासेज पठाएको आधा घण्टा पनि बाँचिनन् अमृता

शारीरिक र मानसिक यातना असह्य भएपछि अमृताले तिलोत्तमा-२ को वडा कार्यालयमा समेत निवेदन दिएकी थिइन्। निवेदन दिएर मिलापत्र भएपछि श्रीमान् आफ्नो बेइज्जत गरेको भन्दै ससुराली पक्षसँग रुष्ट थिए।
 |  शनिबार, वैशाख ३, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, वैशाख ३, २०७९

म मर्न चाहन्‍नँ, म यहाँ बस्‍न नि सक्दिनँ। प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्‍नँ। प्लिज दाइ ! मलाई यहाँबाट निकालिहाल्नु, हेल्प गर्नु म निस्कन्छु। 

रहस्यमय रुपमा मृत्यु भएकी रुपन्देही तिलोत्तमा २ की २९ वर्षीया अमृता टन्डन खत्रीले आफ्ना दाइ पुष्पक खत्रीलाई पठाएको म्यासेज हो यो। बुधबार राति ९:३० बजे अमृताले पुष्पकलाई सहयोगको याचना गर्दै यो म्यासेज लेखेकी हुन्। बहिनीको म्यासेज देख्‍नेबित्तिकै तुरुन्तै पुष्पकले रिप्लाइ दिन्छन्- ‘तँजस्तो मान्छेले मर्ने कुरा गर्ने हो? भोलि भान्जासँग आइज कुरा गरौंला।’ 

पुष्पकले यो म्यासेज राति ९:४५ मा पठाएका छन्। तर, भोलि भेटौंला भनेर सम्झाएका उनले बहिनीलाई अब कहिल्यै भेट्ने छैनन्। ह्वाट्सएपमा कुरा गरेको आधा घन्टाको अन्तरमा बहिनी अमृताले संसार त्यागिन्। ‘९:३० सम्म बहिनीले बचाउन मलाई म्यासेज गरिन्, तर १०:१५ मा बहिनी लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएको भनेर खबर आयो,’ पुष्पक भावविह्वल हुँदै भन्छन्, ‘हामी पुग्दा बहिनीको मृत्यु भइसकेको थियो।’ आफूसँग साढे नौ बजेसम्म बचाउनुस् भनेर म्यासेज गर्ने बहिनीको ९ बजेर ५० मिनेट जाँदा अस्पतालले मृत्यु भएको ‘डेथ सर्टिफिकेट’ दिएको दाजु पुष्पक बताउँछन्। ‘मैलै ९ बजेर ३२ मिनेट जाँदासम्म कुरा गरेको छु, १८ मिनेटमा विष सेवन गर्न सम्भव हुँदैन, यो योजनाबद्ध रुपमा हत्या नै गरिएको हो,’ पुष्पक भन्छन्, ‘हत्या गरेर विष सेवन गराएको नाटक गरिएको छ, हामीलाई न्याय चाहियो।’ 

अमृतालाई विष सेवन गरेपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेको श्रीमान् प्रेम टण्डनको जिकिर छ। प्रेमले अमृतालाई अस्पतालमा बिरामी भएर ल्याएको भनेर खबर गरेका थिए। मृतक अमृताका दाजु पुष्पकले १०:१५ बजे आफूहरुलाई खबर आएपछि अस्पताल पुगेको सुनाए। ‘अस्पताल जाँदा ज्वाइँ (प्रेम) को अनुहारमा कुनै पीडा थिएन, पुग्नासाथ अमृता माथि गइन् भनेर भन्‍नुयो,’ पुष्पक प्रश्न गर्दै भन्छन्, ‘आफ्नो सदस्य गुम्दा त्यस्तो कसैले भन्छ?’ 

घटनाको दिन के भएको थियो?

अमृता र प्रेमबीच प्राय: झगडा भइरहन्थ्यो। झगडा हुने-मिल्ने एक प्रकारको नियमितता जस्तै हुन्थ्यो। झगडा हुनासाथ नजिकै भएकाले अमृताका दाजु पुष्पकले थाहा पाउँथे र घर पुगिहाल्थे। यो क्रम भदौदेखि विस्तारै बढ्दै थियो। पुष्पकले बहिनी ज्वाइँको घर बनाउने बेला सहयोग समेत गरेका थिए। करिब पाँच दिनअघि अमृताले परिवारका सदस्यहरुले भारत जाने कुरा गरेको तर आफूलाई भारत जान नसक्ने भाउजू मुनालाई बताएकी थिइन्।


 यहाँ त तपाईहरु हुनुहुन्छ, उहाँ (भारत) मा म एक्लै हुन्छु, म त्यहाँ जान्न, बरु डिभोर्स गर्छु भन्‍नुभाथ्यो,’ भाउजू मुनाले भनिन्। भारत जाने कि नजाने भन्‍ने विषयकै कारण चैत २९ गते अमृता र प्रेमबीच झगडा भयो। अमृताले दाजु पुष्पकलाई रुँदै फोन गरिन्। पुष्पक र भाउजू मुना घर पुगे। घर पुग्दा वरपरका छिमेकी पनि जम्मा भइसकेका थिए। केहीबेर पुष्पक र अमृताका सासु-सुसुरासँग भनाभन पनि भयो। केही परेमा बहिनीलाई खबर गर्न भनेर पुष्पक घर फर्किए। ‘राति नन्द (अमृता) ले श्रीमानसँग कुरा गर्न पनि दिनुहुन्‍न सासु-ससुराले भनेर म्यासेज पठाउनुभएको थियो,’ मुनाले भनिन्।  

सासु र ससुराले अनावश्यक रुपमा हस्तक्षेप गर्ने, शारीरिक र मानसिक यातना दिएको अमृताले बताउने गरेको उनले सुनाइन्। अघिल्लो दिन नै झगडा भइसकेको थियो। भोलिपल्ट बिहान (चैत ३० गते) फर्निचर उद्योगमा जानुअघि अमृता माइती आइन्। भारत जान नसक्ने भन्दै कपडा बोकेर उनी माइती अएकी थिइन्। दाजु पुष्पकले 'नयाँ मिल' स्थित फर्निचरमा छोड्न गए। साँझ पनि अमृता घर नगएर माइतमै आइन्। अब आफू घर नजाने बरु डिभोर्स गरेर केही काम गर्ने बताएकी थिइन्। ‘साँझ परेपछि लगातार नानीका श्रीमान प्रेम टण्डनको फोन आइरह्यो, २-३ पटकसम्म त नानीले फोन उठाउनुभएन,’ भाउजू मुनाले भनिन्, ‘फोनमै नआउने भए छोरालाई जे पनि हुनसक्छ भनेपछि साढे ८ बजेतिर घर जानुभएको हो।’ 

नौ वर्षअघि प्रेम विवाह गरेकी अमृताले छोराको स्कुल फी समेत आफैँले तिर्थिन्। शारिरिक र मानसिक यातनाका असह्य भएपछि तिलोत्तमा वडा न. २ को वडा कार्यालयमा समेत निवेदन दिएकी थिइन्। निवेदन दिएर मिलापत्र भएपछि श्रीमान आफ्नो बेइज्जत गरेको भन्दै ससुराली पक्षसँग रुष्ट थिए। 

घर फर्केलगत्तै साढे नौ बजे दाजुलाई ह्वाट्ससपमा म्यासेज पठाएकी थिइन्। ‘नजानु भन्दाभन्दै जानुभयो, अहिले अपराधीहरुले हत्या गरे,’ भाउजू मुनाले भनिन्। 

दाजु पुष्पकले बहिनीलाई योजनाबद्ध रुपमा हत्या गरेको जिकिर गरेका छन्। प्रहरीले विष सेवन गरी बिरामी भएर लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएको छ। तर, अमृताका माइती पक्षले विष सेवन गर्न नसक्ने बताउँदै हत्या भएकाले कारबाहीको माग गरेका छन्। पीडितले शनिबार इलाका प्रहरी कार्यालय बुटवल नै घेराउ गरेका थिए। घेराउका क्रममा प्रहरीले बल प्रयोग समेत गरेको थियो। 

प्रहरीले सुरुदेखि नै घटनालाई आत्महत्या दुरुत्साहनबाट भएको तर्फ केन्द्रित गर्न खोजेपछि आफूहरुले न्यायको माग गर्दै प्रदर्शनमा उत्रनुपरेको मृतकका दाजु पुष्पक खत्रीले बताए। ‘प्रहरीको भूमिका शंकास्पद देखिएको छ, पीडितको कुरा सुन्‍न खोजेको छैन,’ उनले भने, ‘विशेषज्ञ टोलीले पोष्टमार्टम गर्नुपर्छ।’ नौ बजेर ३२ मिनेट जाँदासम्म कुराकानी भएको, ९:५० मा मृत्यु, मृत्युपश्चात पनि श्रीमान, सासुससुरा नहतारिनु, छिमेकीले अस्पताल ल्याउनेजस्ता कुराले घटना हत्या नै भएको माइती पक्षको दाबी छ।

प्रहरीले भने घटनाको अनुसन्धान प्रक्रिया अवरुद्ध नगराउन अपिल गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले वैशाख १ गते श्रीमान प्रेम टण्डन, ससुरा टहलसिंह र सासु दीपा टण्डनविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएकाले तीनै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए। 

म्याद थप गरेर घटनाको अनुसन्धान भएकाले अब पोष्टमार्टम गरेर प्रक्रिया छिटो अघि बढाउनुपर्ने उनको भनाइ छ। ‘हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पत्र काटेका छौं, सम्बन्धित पक्षले काठमाडौं लाने भनेकाले हुन सकेको छैन,’ उनले भने। उनले घटनामा संलग्‍नको आशंका गरिएकाहरुलाई प्रहरीले पक्राउ गरेकाले अनुसन्धानलाई विश्वास गर्न आग्रह गरेका छन्।  

अमृताका आमा र भाउजू। 

यसरी बिग्रियो सम्बन्ध 

अमृता र प्रेमको घर करिव ३ सय मिटर दुरीमा छ। ९ वर्षअघि १२ कक्षा पढ्दा पढ्दै अृमताले प्रेम विवाह गरेकी हुन्। टण्डन भएकाले सुरुमा नाता सम्बन्ध पर्छ की भनेर विवाह नगर्ने सुझाव समेत माइती पक्षले दिएका थिए। तर, पछि विवाह गर्न मिल्ने भएपछि विवाह भएको हो। प्रेम टण्डनको सपरिवार भारतमै रोजगारी गर्थ्यो। विवाहपछि अमृता पनि श्रीमान प्रेमसँगै पञ्‍जाब गइन्। करिब ४ वर्ष त्यहाँ बसेर नेपाल फर्किए। 

अमृताको माइती तिलोत्तमा २ जानकीनगर बरपिपल हो भने घर भेटनरी लाइन। विवाह भएको एक वर्षमै अमृताले छोरा जन्माइन्। छोरा अहिले ८ वर्षका छन्। सुरुका चार पाँच बर्षसम्म सम्बन्ध राम्रै थियो। पछि विस्तारै सामान्य खटपट हुन थाल्यो। 'सपरिवार जानकीनगरमा घर बनाएर बस्‍न थालेपछि बहिनीमाथि बेला बेलामा कुटपिट हुने र मानसिक यातना दिने काम हुने गरेको थाहा पाइयो। बहिनी आफैँ केही गर्नुपर्छ भन्‍ने स्वभावकी थिइ, त्यसैले उसले नयाँ मिलमा फर्निचर उद्योगमा काम गर्थी,’ दाजु पुष्पक सम्झन्छन्, ‘ज्वाइँ, सासु-ससुराले यो काम मन नपराएको, बहिनीलाई गाली गर्ने बेला बेलामा गुनासो पनि गर्थिन्।’ 

सामान्य झैझगडा हुँदा आफूहरुले पनि छोरीले सहनुपर्छ, परिवार मिलाउनुपर्छ भनेर सम्झाउने गरेको आमा सावित्रा खत्री बताउँछिन्। ‘झगडा भएपछि अमृता यहीँ आउँथी, हामीले सम्झाउँथ्यौं, छोराको पनि भविष्य हेर्नुपर्छ भन्थ्यौं,’ आमा सावित्राले भनिन्। अमृता र प्रेमबीचको सम्बन्धमा दरार आउने क्रम बढ्दै जान्छ। गत भदौमा अमृताले असह्य भएपछि तिलोत्तमा वडा न. २ को वडा कार्यालयमा आफूमाथि हिंसा भएको भनेर निवेदन दिएकी थिइन्।

निवेदन दिएपछि अमृता माइत बसेकी थिइन्। भदौ १७ गते दधिराम गौतमको रोहवरमा छलफल भएको थियो। छलफलमा अमृताले सम्बन्ध विच्छेद नै गर्ने बताएकी थिइन। तर, वडाअध्यक्ष सहित छलफलमा सहभागीहरुले घरको कुरा हो, यसरी आवेगमा आउनुहुन्‍न भनेर लिखित कागज गरेर मिलापत्र गराएका थिए। मिलापत्रले केही समय त सम्बन्ध सुध्रिएको देखियो तर, त्यसपछि भने ज्वाईँ प्रेम ससुराली आउन छाडेको अमृताको भाउजू मुना खत्रीले बताइन्। 

अमृताको न्यायको माग गर्दै प्रदर्शन। 

‘माघे संक्रान्तिमा अमृता मात्रै आउनुभयो, ज्वाइँ आउनुभएन, चैत दशैंमा पनि आउनुभएन,’ उनले भनिन्। वडामा निवेदन परेपछि प्रेम टण्डनसहित सासु दीपा टण्डन र ससुरा टहलसिंह टण्डनको व्यवहार थप रुखो बनेको अमृताले बताउने गरेकी थिइन्। ‘फर्निचरमा जागिर गरेर के भयो, पैसा खोइ भन्‍ने, खाना पकाउँदा, लुगा धुँदा समान्यभन्दा सामान्य विषयमा पनि झगडा परिरहन्थ्यो,’ भाउजू मुनाले भनिन्।

उनका अनुसार छोराको स्कुल शुल्क समेत अमृताले नै तिर्दै आएकी थिइन्। श्रीमान नेपाल आएपछि बेरोजगार थिए। फर्निचरमा दिनभरि काम गरेर घर फर्किँदा प्राय: झगडा हुने गरेको छिमेकीहरु बताउँछन्। सासु दीपाले बढी नै तनाव दिने गरेको अृमताले माइतीलाई सुनाउने गरेकी थिइन्। सामान्य विषयमा झगडा हुने भएपछि अमृताले सम्बन्ध विच्छेद गरेर बस्न चाहेकी थिईन्। तर, छोराका कारणले सम्बन्ध तोड्न नसक्दा घटना भएको स्थानीयहरु बताउँछन्। 

भारतमा हुँदा अमृताले ब्युटीपार्लर सिकेकी थिइन्। नेपाल फर्केपछि त्यहाँको सर्टिफिकेट सासुले लुकाएर राखेर काम गर्न नदिएको गुनासो गरेकी थिइन्। ‘सामान्य विषयमा पनि वहिनीमाथी टर्चर हुन्थ्यो,’ भारत मुम्बई बस्‍ने जेठो दाजु विमल खत्रीले भने, ‘ज्वाईँसँग राम्रोसँग कुरा कहिल्यै हुन पाएन, सधै केही न केही समस्या हुन्थ्यो, अहिले यस्तो घटना भयो,’ विमलले भने। माइती पक्षका अनुसार अमाजू दीदीले समेत बेलाबेलामा तनाव दिन्थिन्।

प्रकाशित: Apr 16, 2022| 19:14 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।