काठमाडौं- स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलन मंगलबार सकिएको छ। आइतबारदेखि सुरु भएको सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हो। सम्मेलनले नेपालको स्वास्थ्य नीतिको प्रबर्द्धन र प्रणाली अनुसन्धानका विद्याहरुलाई सम्बोधन गरी स्वास्थ्य प्रणाली निर्माणका लागि मार्गनिर्देशन गरेको जनाइएको छ।
सम्मेलनले वैज्ञानिक स्वास्थ्य अनुसन्धान र प्रमाण संकलनको कार्यमार्फत नीति तर्जुमा कार्यलाई सहज बनाउन संघीय संरचनामा क्षमता अभिवृद्धि गर्ने, स्वास्थ्य क्षेत्रलाई अनुसन्धान, शिक्षण संस्था र उद्योगलगायतका निकायहरुसँग समन्वय गर्ने, बायोमेडिकल, इपीडिमियोलोजिकल, क्लिनिकल अनुसन्धानका कार्यहरुलाई विभिन्न सरोकारवाला निकायसँग संयोजन गरी प्रमाणमा आधारित नीति र कार्यक्रम तर्जुमा गर्ने लगायतका घोषणापत्र जारी गरेको छ।
साथै परिष्कृत जनस्वास्थ्य परिणामका लागि बहुआयामिक क्षेत्रसँग समन्वयात्मक गतिविधि सञ्चालन गर्ने, जलवायु परिवर्तनका सम्भावित खतराहरु, प्राकृतिक विपत्ति र उदीयमान सरुवा रोगहरुको पहिचान र नियन्त्रण योजना बनाउनलाई आवश्यक नवीन प्रविधिको प्रयोग गर्ने, नसर्ने रोगहरुको परिवर्तित ढाँचालाई सम्बोधन गर्न प्रारम्भिक रोकथाम, न्यूनीकरण, निदान र उपचारलाई प्रवद्र्धन गर्ने, गुणस्तरीय औषधिको उत्पादन प्रबर्द्धन गर्न औषधी उत्पादक निकायहरु र अनुसन्धान संस्था बीचमा पारस्परिक समन्वय गर्ने, रणनीति अपनाउने, मातृ शिशु तथा बाल स्वास्थ्य कार्यक्रमको माध्यमबाट मृत्युदर न्यूनिकरणका लागि बहुपक्षीय प्रयत्नलाई सुदृढ गराउनेलगायतका घोषणा गरिएको छ। समापन कार्यक्रममा बोल्दै परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले स्वास्थ्यमा अनुसन्धान गर्नेहरुका लागि सम्मेलन महत्वपूर्णरहेको बताए। साथै नीति तथा कार्यक्रम निर्माणका लागि यस सम्मेलनले सहज बनाएको बताए।
सम्मेलनमा कोभिड १९ मानसिक स्वास्थ्य, स्वास्थ्य नीति, नसर्ने रोग, औषधिलगायतका विविध विषयमा प्रस्तुतीकरण रहेको थियो। सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञहरुको प्रस्तुतीकरण रहेको थियो भने ४० वटा अनुसन्धानमूलक कार्यहरुको मौखिक र ८७ वटा पोष्टर प्रस्तुती भएको थियो।