शनिबार, असार २८, २०८२

वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त नगरपालिका

नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसंख्या भन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

कर्णाली- सुर्खेतको वीरेन्द्रनगर कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ। नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसंख्या भन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार एक समारोहका बीच वीरेन्द्रनगरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नुभएको हो। सो अवसरमा उनले वीरेन्द्रनगरलाई पहिलोपटक कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगर घोषणाको दिनलाई कर्णालीका लागि ऐतिहासिक दिनका रूपमा आफूले लिएको बताए।

‘कर्णालीका बाँकी ७८ वटै पालिका नागरिकलाई कोरोना खोपको पहुँचमा पुर्‍याई पूर्ण खोपयुक्त पालिका घोषणा खोप अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ’, उनले भने, ‘पूर्ण खोपयुक्त पालिका बनाउन आवश्यक खोप तथा जनशक्ति उपलब्ध गराइएको छ, खोप अभियान अझै पनि सञ्चालनमै छ।’

कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त घोषणा कार्यक्रममा नगरप्रमुख देवकुमार सुवेदीले नगरका शतप्रतिशत नागरिकले खोप लगाएको हुनुपर्ने मापदण्डानुसार लक्षित समुदायका नागरिकलाई पूर्णखोप उपलब्ध गराएर सफलता प्राप्त गरेको बताए। तोकिएको लक्ष्यभन्दा १९ प्रतिशत बढी नागरिकलाई खोप लगाइएको उनको भनाइ छ। 

नगर उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाका १६ वटै वडाका २९ हजार घरधुरीमा पुगेर खोप अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले भने, ‘जनस्वास्थ्यका हिसाबले हाम्रो यो ठूलो उपलब्धि हो, छुटेकालाई खोप लगाउने काम भइरहेको छ, शतप्रतिशत प्रगति हासिल गरिएकाले खोपयुक्त घोषणा गरेका हौँ।’

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीका अनुसार नगरभित्रका ९९ हजार ९०५ जनालाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो। चैत २३ गतेसम्म एक लाख १८ हजार ९४६ जनालाई कोभिडको पूर्णखोप लगाइयो। यो लक्षित सङ्ख्याको १९ प्रतिशत बढी हो। जनस्वास्थ्य निरीक्षक गिरीले लक्षित जनसंख्यालाई खोप लगाइसकेपछि सबै टोलमा स्वास्थ्य स्वयंसेविका परिचालन गरी खोप लगाउन बाँकीको तथ्याङ्क सङ्कलन गरेको र छुटेकालाई बोलाएर खोप लगाइएको बताए। 

वीरेन्द्रनगरमा नगर अस्पतालसहित १९ वटै स्वास्थ्य संस्थामा नियमित खोप अभियान सञ्चालनमा छ। कोभिड–१९ महामारीको पहिलो, दोस्रो र तेस्रो लहरका बेला संक्रमित संख्याका आधारमा वीरेन्द्रनगर ‘रेडजोन’मा थियो। हाल वीरेन्द्रनगरमा सक्रिय संक्रमितको संख्या शून्य रहेको बताइएको छ।  रासस


प्रकाशित: Apr 08, 2022| 08:10 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्