खोपबाट विश्वभर विफर उन्मूलन भएपछि नेपालमा पनि २०३४ सालमा राष्ट्रिय खोप कार्यक्रम सुरु गरियोे। यसलाई हामीले विस्तारित खोप कार्यक्रम भनेर बुझ्दै आएका छौं। नेपाल सरकारले चलाएका खोप कार्यक्रमहरुले राम्रो प्रगति हासिल गरेको छ। एउटा विकसित राष्ट्रमा जन्मिने बच्चाले पाउने जति सुविधा त हामीले हाम्रा बालबालिकालाई दिन सकेका छैनौं, तर हाम्रो क्षमता अनुसार दिएका छौं। राम्रोसँग खोप कार्यक्रम सञ्चालन गरेका छौं। बाल मृत्युदर घटाउनका लागि नियमित खोप अभियानको ठूलो योगदान छ। त्यसैले यो सरकारको प्राथमिकतामा रहेको कार्यक्रम हो।
अब कुरा गरौं हामीले सुरु गरेको टाइफाइडविरुद्धको खोपको। ग्लोबल एलाइन्स भ्याक्सिन इम्युनाइजेसनले हाल अभियानका लागि यो खोप निःशुल्क रुपमा उपलब्ध गराएको छ। सन् २००८ तिर टाइफाइडविरुद्धका दुईथरी भ्याक्सिन विश्वमा उपलब्ध थिए। तर ती भ्याक्सिनले त्यति प्रभावकारी काम गरेको थिएन। ती भ्याक्सिनको प्रभावकारिता ५०–५५ प्रतिशतमात्र थियो। तर अहिले हामीले प्रयोग गर्न लागिएको यो भ्याक्सिनले ८५ प्रतिशत काम गर्ने देखिएको छ। त्यसैले पनि हामीले यो खोप प्रयोग गर्न लागेका छौं।
टाइफाइड विश्वव्यापी रुपमा देखिने गरेको छ। संसारमा हरेक वर्ष करिब २ करोड मानिसलाई टाइफाइड हुने गरेको छ। तीमध्ये १ लाख ६१ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ। विश्व स्वास्थ्य संगठनले टाइफाइड संक्रमण भइरहने देशहरुलाई प्रतिलाख जनसंख्यामा १ सय भन्दा बढीलाई टाइफाइड भएमा नियमित खोपमा टाइफाइड खोप समावेश गर्नका लागि सन् २०१७ मा नै सिफारिस गरेको हो। नेपालमा प्रतिलाख जनसंख्यामा १०० भन्दा धेरै गुणा बढी संक्रमित भएकाले हामीले पनि नियमित खोपका रुपमा संलग्न गरेका हौं।
नेपाल सरकारको सूचना प्रणालीमा सूचीकृत तथ्यांकअनुसार विगत ५ वर्षमा नेपालमा हरेक वर्ष ४ लाख ५० हजार मानिसलाई टाइफाइड हुने गरेको पाइन्छ। त्यस्तै पाटन एकेडेमी अफ हेल्थ साइन्सको एक अध्ययनअनुसार प्रति एक लाख जनसंख्यामा १ हजार ६२ जनालाई टाइफाइड संक्रमण भएको थियो। टाइफाइडलाई राम्रोसँग उपचार गर्न सकिएन भने १–१० प्रतिशतसम्म जटिलता ल्याउन सक्छ। बालबालिकाको उमेरमा हेर्ने हो भने प्रति एक लाखमा ४ वर्षसम्मका ७६४ जना, ५–६ वर्षका ६ हजार ७१३ जना र १० देखि १४ वर्षका ३ हजार ७५० जनामा टाइफाइड भएको थियो। हुन त सबै उमेर समूहका मानिसहरुलाई टाइफाइड हुन्छ तर यसको सबैभन्दा बढी भार १५ वर्षमुनिका बालबालिकालाई हुन्छ। तसर्थ हामीले अहिले १५ वर्षमुनिका बालबालिकाई खोप दिने भन्नुको आधार यहि हो।
सन् २००८ तिर टाइफाइडविरुद्धका दुईथरी भ्याक्सिन विश्वमा उपलब्ध थिए। तर ती भ्याक्सिनले त्यति प्रभावकारी काम गरेको थिएन। ती भ्याक्सिनको प्रभावकारिता ५०–५५ प्रतिशतमात्र थियो। तर अहिले हामीले प्रयोग गर्न लागिएको यो भ्याक्सिनले ८५ प्रतिशत काम गर्ने देखिएको छ।
नेपालमा टाइफाइडको कल्चर गरेर पहिचान गर्ने क्षमता सबै ठाउँमा छैन। कल्चर गरेका कतिपयको रिपोर्ट हुन सकेको छैन। त्यसैले पनि तथ्यांकमा हामी केही चुकेका छौं। विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने पानी र खानाजन्य संक्रामक रोगहरुमध्ये तेस्रो स्थानमा टाइफाइड छ भने अस्पताल भर्ना हुनेमध्ये चौथो नम्बरमा छ।
हामीले सरसफाइ प्रवर्द्धन गरेर पनि यसको नियन्त्रण गर्न सकिन्छ तर खोप नै किन भन्ने प्रश्न पनि उठ्न सक्छ। पूर्णरुपमा सरसफाइ गर्न सके यसको नियन्त्रण गर्न सकिन्छ तर तत्कालका लागि सरसफाइसँगै क्षति कम गर्न खोपलाई अगाडि सारिएको हो। अर्को कुरा बहुवर्षिय खोप योजना २०१७ देखि २०२१ थियो। उक्त योजनामा राष्ट्रिय खोप कार्यक्रममा नयाँ खोप कार्यक्रमहरु समावेश गर्ने योजना थियो। राष्ट्रिय खोप सल्लाहकार समितिले पनि टाइफाइडको खोपलाई अब नियमित खोपमा लैजान सिफारिस गरेको थियो। सोही अनुसार हामीले राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेका हौं।
अहिलेको यस राष्ट्रिय खोप कार्यक्रम चलिरहँदा यसले टाइफाइड विरुद्धको खोप लगाउने कुरा मात्रै गरेको छैन। यसमा महत्वपूर्ण तीनवटा कुरा समावेश गरिएको छ। एक¬– पन्ध्र महिनादेखि पन्ध्र वर्षमुनिका बालबालिकालाई एकपटक भ्याक्सिन दिएर सुरक्षित गराइहाल्ने। दुई– अभियान सकिएपछि यस खोपलाई नियमित खोपमा संलग्न गराउने र तेस्रो– कोभिड महामारीको समयमा नियमित खोप लगाउन छुटेका बालबालिकालाई यस खोपसँगै समेट्ने।
टाइफाइडको संक्रमण रोकथाम तथा यसबाट हुने जटिलता न्यूनीकरण गर्ने नै हाम्रो लक्ष्य हो। यस अभियानमा अनुमानित लक्षित जनसंख्या १५ महिनामाथि ५९ महिना मुनिका बालबालिका हुन्। हामीले ७४ लाख १५ हजार १६३ जनालाई खोप दिने लक्ष्य राखेका छौं। त्यसपछि भने नियमित खोपको दादुरा रुबेलाको खोपसँगै यो खोप दिइनेछ।
खोप अभियान देशैभर एकै चरणमा चल्नेछ। केही स्थानीय तहले खोप लगाउन सुरु गरिसकेका छन्। तर राष्ट्रिय अभियान भने चैत २५ देखि हुनेछ। हामीले चैत २५ देखि वैशाख १८ सम्म मिति तोकेका छौं। सबै ठाउँमा एकै दिन अभियान सञ्चालन हुन्छ भन्ने पनि होइन। स्थानीय तहले त्यहाँको आवश्यकता अनुसार अभियान सञ्चालन गर्नेछन्। अर्को कुरा यो अवधिमा स्थानीय तहले पूरै २४ दिन खोप सञ्चालन गर्ने भन्ने होइन। स्थानीय तहल दुई वा तिन दिन अभियान सञ्चालन गर्नेछ र सोही समयमा बालबालिकालाई खोप लगाउनुपर्नेछ। वैशाख १८ गते भने सबै स्थानीय स्वास्थ्य संस्थाले खोप लगाइसक्नु पर्नेछ।
यो अवधिमा सञ्चालन गर्नुपर्ने हाम्रो बाध्यात्मक परिस्थिति पनि छ। किनकी यतिबेला हामीले कोभिडविरुद्धको खोपलाई निरन्तरता पनि दिनुपर्नेछ। वैशाख २० भन्दा पछाडिको समयमा स्थानीय निर्वाचनका कारण हामीले खोप अभियान सञ्चालन गर्न नपाउने भयौं। निर्वाचन आयोगले वैशाख २० गतेभन्दा पछाडि खोप अभियान सञ्चालन नगर्न भनेको छ। त्यसैअनुसार हामीले वैशाख १८ गतेसम्मको योजना बनायौं। हामीले वैशाख १ गतेदेखि अभियान सञ्चालन गर्ने सोच बनाएका थियौं, तर वैशाखमा विद्यार्थीहरुको परीक्षा गर्न र जेठबाट नयाँ शैक्षिक सत्र सुरु गर्न शिक्षा मन्त्रालयले सबैलाई परिपत्र गरिसकेको रहेछ। फेरि अर्कोतिर केही जिल्लाहरुमा चैतमा नै परीक्षा सञ्चालनको तयारी रहेछ। त्यसैले कहिले खोप अभियान सञ्चालन गर्ने भन्ने विषयमा समस्या देखिएको थियो। स्थानीय तहमा फरक फरक समयमा परीक्षा हुने भएपछि हामीले चैत २५ देखि योजना बनायौं।
टाइफाइडको संक्रमण रोकथाम तथा यसबाट हुने जटिलता न्यूनीकरण गर्ने नै हाम्रो लक्ष्य हो। यस अभियानमा अनुमानित लक्षित जनसंख्या १५ महिनामाथि ५९ महिना मुनिका बालबालिका हुन्। हामीले ७४ लाख १५ हजार १६३ जनालाई खोप दिने लक्ष्य राखेका छौं।
खोप अभियानमा १५ वर्षमुनिका बालबालिकालाई समावेश गर्ने हो। एसइइ दिनेहरु १५ वर्षमुनिका कम हुने सम्भावना भएकाले ती समूहलाई एसईई अगाडि लगाउने व्यवस्थाा गर्न सक्छौं भन्ने उद्देश्यले यो योजना बनाएका हौं। हामीलाई खोप पनि एकैपटकमा नआएर पटक पटक गर्दै आएको थियो। त्यसलाई पनि तालमेल मिल्नुपर्ने अवस्था भयो। जेठ महिनामा बर्खायाम सुरु हुने भएकाले खोप अभियान सञ्चालन गर्न कठिन हुने भएकाले यो समयलाई उपयुक्त मानिएको हो।
यस खोपका लागि लक्षित वर्ग विद्यालयमा हुने भएकाले हामीले विद्यालयमा नै खोप केन्द्र राखेका छौं। तर यसो भन्दैमा स्वास्थ्य संस्थामा वर्जित गरिएको छैन। विद्यालय बाहिर रहेका बालबालिका पनि नछुटुन् भनेर हामीले स्वास्थ्य संस्थाबाट पनि खोप लगाउँछौं।
यस अभियानपछि दक्षिण एसियाली राष्ट्रहरुमध्ये टाइफाइडको खोप लगाउने नेपाल पहिलो देशको रुपमा रहनेछ। दक्षिण एसियामा पहिलोपटक नेपालमा लगाउन लागिएको भनिरहँदा खोपका बारेमा केही जिज्ञासा, शंकाहरु पनि उब्जिएका छन्। तर विश्व स्वास्थ्य संगठनले सुरक्षित प्रमाणित गरिसकेको र अन्य धेरै देशहरुले यो खोप नियमित रुपमा लागइरहेकाले यसमा शंका गर्नुपर्ने कारण छैन।
खोप लगाएको ठाउँमा हल्का दुख्ने, रातो हुने, तातो हुने लगाएतका समस्या देखिएका छन्। अन्यथा यसले कुनै नकारात्मक असर नगर्ने विश्व स्वास्थ्य संगठनले पनि बताएको छ। खोप केन्द्रको विषयमा हिमाली, पहाडी र तराईका जिल्लाहरुमा हाम्रो छुट्टाछुट्टै नियम छन्। पहाडी क्षेत्रमा साविकको गाविसको प्रत्येक वडामा एउटा खोप केन्द्र हुने, नगरपालिकाको हकमा दुईवटा खोप केन्द्र हुनेछन्। यस अभियानमा ५६ हजार ४२९ खोप सेसन संख्या सञ्चालन हुने अनुमान गरिएको छ भने खोप दिने स्वास्थ्यकर्मीको संख्या १० हजार र स्वयंसेवकको संख्या १ लाख १२ हजार ८५८ हुनेछ।
हामीले वैशाख महिनालाई पूर्ण खोप महिनाका रुपमा लिन्छौं। यो महिनामा छुटेका बालबालिकाहरुलाई पनि खोप लगाइन्छ। कुन खोप छुटेकालाई कहिले लगाउने भन्ने हाम्रो प्रोटोकल छ, सोही अनुसार खोप लगाइन्छ। खोपको कभरेज ९५ प्रतिशतभन्दा माथि पुर्याउने लक्ष हो। ठूलो लक्षित समूह छ, छोटो समयमा धेरै काम गर्नुछ। त्यसैले छुटेका बालबालिकालाई खोप लगाउनका लागि प्रेरित गर्नका लागि सबैको सहयोगको अपेक्षा गरेका छौं।