शनिबार, असार २८, २०८२

खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप

दश स्थानीय तह रहेको जिल्लामा ७११ वटा खोप केन्द्र निर्धारण गरेर एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

खोटाङ- यही चैत २९ देखि वैशाख ४ गतेसम्म खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ। दश स्थानीय तह रहेको जिल्लामा ७११ वटा खोप केन्द्र निर्धारण गरेर एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो।

टाइफाइड रोगको संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीतिअनुसार जिल्लाका दशवटै स्थानीय तहमा एकैसाथ खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। ‘टाइफाइड रोगको संक्रमण सबै उमेर समूहमा हुन्छ, तर १५ वर्षमुनिका बालबालिकामा ११ गुणा बढी हुने एक अध्ययनले देखाएको छ’, उनले भने, ‘सरकारको नीतिअनुसार सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप अभियान सफल पार्न जिल्लाका सबै संयन्त्र परिचालन गरिएको छ।’

टाइफाइड रोगविरुद्धको खोप अभियानअन्तर्गत सोमबार जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकाय तथा पत्रकारसँग स्वास्थ्य कार्यालयले अन्तक्र्रिया गरेको छ। अन्तरक्रियामा सहभागी जिल्लास्थित सबै सरोकारवाला व्यक्ति तथा निकायले टाइफाइडविरुद्धको खोप अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयमा आयोजना गरिएको अन्तरक्रियामा खोप लगाएपछि खोप लगाएको भागमा रातो हुने, सुन्निने, दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने, शरीरमा बिमिरा आउने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखापर्ने जनाइएको छ। खोप लगाएपछि देखिने लक्षणबाट नआत्तिन र गम्भीर समस्या आइपरेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आग्रह गरेको छ। 

जिल्लामा सञ्चालन गर्न लागिएको खोप अभियानमा एक हजार ४४२ स्वयंसेवक र ७२७ खोप कार्यकर्ता परिचालन गरिएको जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले जानकारी दिए। जिल्लालाई भ्याक्सिन भायल ११ हजार ८४८, एडिसिरिन्ज ५८ हजार ६५२, आइसप्याक एक हजार २४३, कोल्ड क्यारियर ३०६ लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ। 

खोप अभियानको क्रममा दुई वर्षमुनिका बालबालिकाको नियमित खोप दादुरा–रुबेलाको दोस्रो मात्रालगायत अन्य छुट भएका खोपको पहिचान गरी पूर्णखोप सुनिश्चितता र दिगोपना भएको यकिन गरिनेसमेत जनाइएको छ। सुरुमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई अभियानका रूपमा एक मात्र खोप दिइने र सोपश्चात नियमित खोपमार्फत नियमितरूपमा टाइफाइडविरुद्धको खोपसमेत सबै बालबालिकालाई निरन्तर दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको प्रतिवेदनअनुसार नेपालमा विगत पाँच वर्षको तथ्याङ्कअनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जनामा टाइफाइडको संक्रमण हुने गरेको तथ्याङ्कमा उल्लेख छ। तथ्याङ्कानुसार पानी र खानेकुराबाट हुने संक्रमक रोगमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको र अस्पताल भर्ना हुने बिरामीमध्ये चौथो कारण टाइफाइड नै भएको देखिएको छ। 

प्रकाशित: Apr 05, 2022| 11:00 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्