काठमाडौं- चिकित्सा शिक्षामा स्नातक अध्ययनका लागि लिइने प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ। चिकित्सा शिक्षा आयोगले लिइरहेको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर अरुको नाममा परीक्षा दिने तीन जना किस्ट मेडिकल कलेजका विद्यार्थी मात्र छन्। यसका साथै एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी हुन भारतबाट समेत आउने गरेको पाइएको छ।
चैत १८, २० र २१ गते प्रवेश परीक्षाका लागि मिति तोकिएको छ। प्रवेश परीक्षा सुरुभएको दिनमा नै महानगरीय अपराध महाशाखाले ५ जनालाई पक्राउ गरेपछि एमबीबीएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी भएको पाइएको हो।
किस्ट कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीदेखि भारतबाट समेत आएर अर्काको नाममा परीक्षा दिने गरेको पाइएको महाशाखाका एसएसपी वसन्त कुवँरले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी छ।
सप्तरीको राजगढ गाउँपालिका–१ का २६ वर्षीय राम आशिष यादव किस्ट कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छन्। उनी पनि नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका थिए। कोटेश्वरस्थित ग्रामर स्कुल परीक्षा केन्द्रबाट उनले परीक्षा दिएका थिए। उनले मोटो रकम लिएर प्रवेश परीक्षामा सहभागी भएका थिए।
किस्ट कलेजमा नै एमबीबीएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विद्यार्थी अमर पण्डित पनि पक्राउ परका छन्। ललितपुरस्थित सीसीआरसी कलेजमा अर्काकै नाममा परीक्षा दिइरहेको अवस्थामा उनी पक्राउ परका हुन्।
यस्तै सर्लाहीको चक्रघट्टी–४ का २२ वर्षीय रामनाथ चौधरी पनि पक्राउ परेका छन्। उनी पनि सोही कलेजका एमबीबीएस अध्ययनरत विद्यार्थी हुन्।उनलाई पनि सीसीआरसी कलेजबाट नै पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ।
नक्कली परीक्षार्थी बन्न भारतीय विद्यार्थीसमेत आएको महाशाखाले बताएको छ। भारत बिहार औरगंबाद, रफिगञ्जका २४ वर्षीय इस्तियाख अहमदले महोत्तरीको सम्सीका २३ वर्षीय सन्नीकुमार साहको नामबाट परीक्षा दिएका थिए। अहमदलाई एम्बिसन कलेज मध्यबानेश्वरबाट पक्राउ गरिएको हो। आफ्नो नाममा परीक्षा दिन लगाउने सन्नी पनि समातिएका छन्। महाशाखाका अनुसार बाँकी तीन जना भने फरार छन्।
नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुले १८ लाख रुपैयाँसम्म लिने सर्तमा परीक्षा दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन नागरिकतासमेत कीर्ते गरेको पाइएको प्रहरीले जनाएको छ। सक्कली परीक्षार्थीको प्रवेशपत्र र नागरिकतामा भएको फोटो उप्काएर नक्कली परीक्षार्थीको फोटो टाँस गरी स्ट्याम्प समेत हानेर हुबहु बनाउने प्रयास गरिएको प्रहरीले जनाएको छ।
यसरी सरकारी तथा सार्वजनिक कागजात कीर्ते गरेकाले उनीहरुविरुद्ध सार्वजनिक लिखत सम्बन्धीको कसूरमा मुद्दा दायर गरिने प्रहरीले जानकारी दिएको छ।