काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण आज २५ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ९५१ जनामा कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८१ जना छ। पछिल्लो समय ८९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ३९४ पुगेको छ। निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन।
शून्य सङ्क्रमित भएका १४ जिल्लामा सङ्खुवासभा, सोलुखुम्बु, धनकुटा, बारा, दोलखा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा र हुम्ला छन्। नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत छ।
हाल होम आइसोलेसनमा एक हजार २६, संस्थागत आइसोलेसनमा ५५, आइसीयुमा १४ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ६० हजार २६० जनाले खोप लगाएका छन्।