काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को १५औं महाधिवेशमा विधान नै संसोधन गरेर सहमतिमै नयाँ कार्यसमिति चयन हुने भएको छ।
नेतृत्व चयन प्रक्रियामा सहअध्यक्ष र बरिष्ठ उपाध्यक्ष पदका उमेद्वारबीच विवाद बढेपछी प्याब्सनमा रहेको सहअध्यक्ष र बरिष्ठ उपाध्यक्षको पद खारेज गरेर उपाध्यक्षको संख्या बढाएर सहमतिमा नै नयाँ कार्यसमिति चयन गर्ने भएको हो।
प्याब्सनमा अध्यक्ष पदका लागि बर्तमान कार्यसमितिका सहअध्यक्ष डिके ढुंगाना निर्विरोध निर्वाचित भएपछि अन्य पदमा सहमतिमै कार्यसमिति तय गर्ने तयारी हुँदा आंकाक्षि बीच कुरा नमिलेपछी विधान नै संसोधन गरेर उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउने सहमति भएको प्याब्सनका उपाध्यक्ष इश्वरबहादुर गुरुङले जानकारी दिए।
प्याब्सनको १५औं राष्ट्रिय महाधिवेशनले तीन वर्षे कार्यकालका लागि एक अध्यक्ष, सहअध्यक्ष र वरिष्ठ उपाध्यक्ष सहित २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्ने भने पनि यसमा संसोधन गरेर १८ जना उपाध्यक्ष र चार जना उपमहासचिवको पद सृजना गरिने भएको छ।
सहअध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष ईश्वरबहादुर गुरुङ र आशिष श्रेष्ठको उम्मेदवारी दिएका थिए भने वरिष्ठ उपाध्यक्षमा गोपाल प्रसाद आचार्य, कृष्ण प्रसाद अधिकारी र दीपिका रिमाल थापाले उम्मेदवारी दिएका थिए। यस्तै उपाध्यक्षमा तुकाराम (टीआर) ढकाल, नवराज महत, वीरबहादुर बुढाथोकी, टंक भट्टराई, किशोर गौतम, राजेशकुमार दास, गोपाल कार्की, जगबीर थापा र नारायणप्रसाद घिमिरले उम्मेदवारी दिएका थिए।
विधान संसोधन गरेर सहमतिमै नयाँ कार्यसमिति चयन गर्न सहअध्यक्ष, बरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई उपाध्यक्ष बनाइने गरि सहमति भएको छ। महासचिवमा आरबी कटुवाललाई बनाउने यस अघि नै सहमति भइसेकेको छ। यस्तै उपमहासचिवमा भुवनलाल श्रेष्ठ, भीमसेन केसी र शिव कार्की गरी तीन जनाले उमेद्वारी दिएपनि एक जना पद थप गरी महिला उपमहासचिव गरेर चार जना पुर्याइने भएको छ।
महिला सचिवमा आशाकुमारी खड्का र ग्रेस श्रेष्ठले उमेद्वारी दिएका थिए। पुरुष सचिवका लागि रत्न महर्जन, श्यामकुमार यादव, केबी थापा, पुरुषोत्तम अधिकारी, यादव गिरी, शम्भुप्रसाद पोखरेल, सुवर्ण न्यौपाने, हेमन्त कार्की, हेमराज अधिकारी, हिरा शर्मा नेपालले मनोनयन दर्ता गराएका थिए। कोषाध्यक्षमा सन्तोष मणि न्यौपाने निर्विरोध निर्वाचित भएका थिए।
सहकोषाध्यक्ष पदमा गणेशबाबु पोखरेल, दीपकराज लम्साल, विष्णु न्यौपाने र हेमलाल शर्माले मनोनयन दर्ता गरेका थिए। महाधिवेशनमा मुलुकभरबाट दुई हजार दुई सय ४६ प्रतिनिधिको सहभागिता रहेको छ।