काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नयाँ अध्यक्षको रूपमा वर्तमान कार्यसमितिका सहअध्यक्ष डिके ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन्।
१५औं महाधिवेशनको तयारीमा जुटेको प्याब्सनले यस अघिको १४औं महाधिवेशनमा भएको सहमति अनुसार नै सहअध्यक्ष डिके ढुंगानालाई अध्यक्षको रूपमा निर्विरोध चयन गरेको हो। उम्मेदवारी मनोनयनका क्रममा अन्य पदमा उम्मेदवारी दिनेको प्रतिस्पर्धा नै चले पनि अध्यक्षमा भने ढुंगानाको एकल उम्मेदवारी दर्ता भएको छ।
दाबी विरोधको समय नसकिए पनि केही पदमा एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुन सक्ने र पदाधिकारीमा पनि केही पदमा उम्मेदवारी फिर्ता हुन सक्ने प्याब्सन महासचिव कुमार घिमिरेले जानकारी दिए। उनले भने, ‘कोषाध्यक्षमा सन्तोषमणि न्यौपानेको एकल उम्मेदवारी परेको छ। दाबी विरोध वा फिर्ता हुने सम्भावना छैन। अन्य पदाधिकारीमा पनि सहमति जुटाउने प्रयास भएको छ।’
सहमतिमै नेतृत्व चयन गर्ने भने पनि अध्यक्ष र कोषाध्यक्ष बाहेक अन्य पदमा प्रतिस्पर्धा हुने देखिएको छ। सहअध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष ईश्वरबहादुर गुरुङ र आशिष् श्रेष्ठको उम्मेदवारी परेपछि सहमतिको प्रयास भए पनि उम्मेदवारी फिर्ता हुने अवस्था नदेखिएको उनले बताए।
यस्तै वरिष्ठ उपाध्यक्षमा गोपाल प्रसाद आचार्य, कृष्ण प्रसाद अधिकारी र दीपिका रिमाल थापाले उम्मेदवारी दिएका छन्।
प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा सात दिन अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यवस्था भएकोले चैत २ गते बुधबार उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको थियो।
आगामी चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको कमलादीमा आयोजना हुने १५औं राष्ट्रिय प्याब्सनले ‘सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ भन्ने नारासहित आगामी महाधिवेशन सम्पन्न गर्ने भएको छ।
प्याब्सनले १५औं महाधिवेशनसँगै निर्वाचित हुने नयाँ कार्यसमितिले पठनशैली र पाठ्यक्रममा परिवर्तन, निजी र सार्वजनिक शिक्षालयमा अध्ययन गरेका विद्यार्थीबीचको छात्रवृत्तिको विभेद हटाउने, प्रविधीसंग शिक्षालाई जोड्दै सिप, संस्कार र प्रविधि सहितको दक्ष जनशक्ति उत्पादन गर्ने विषयलाई नै प्राथमिकताका साथ अघि बढाउने एजेण्डामा पनि सहमति गरेको छ।
सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी भएकाले प्याब्सनमा घोषित रूपमा कुनै प्यानल छैनन्। १५औं राष्ट्रिय महाधिवेशनले तीन वर्षे कार्यकालका लागि एक अध्यक्ष, सहअध्यक्ष र वरिष्ठ उपाध्यक्ष सहित २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्नेछ।