काठमाडौं– नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भएको छ। अतिरिक्त शुल्कको विरोधमा विगत तीन महिनादेखि आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच ४ बुँदे सहमति भएको हो। गत पुस ११ गतेदेखि नोबेल मेडिकल कलेजमा पढाइ सुरु भए पनि ३ दिन कक्षामा प्रवेश पाएका विद्यार्थीहरु अतिरिक्त शुल्क नबुझाएपछि आन्दोलन गर्दै आएका थिए।
सुरुमा ८१ जनाबाट सुरु भएको आन्दोलन हाल १० जनामा सीमित भएको थियो। अन्य विद्यार्थीले भने पढाइ छुटेको भन्दै अतिरिक्त शुल्क बुझाएर पढिरहेका छन्। बुधबार भएको सहमतिअनुसार पढाइ छुटेका विद्यार्थीका लागि छुट्टै कक्षा सञ्चालन गर्ने र छुटेको पाठ रिकभर गर्ने सम्झौता भएको छ।
सहमति अनुसार १० जना विद्यार्थीहरुको पहिलो सेमेष्टरमा छुट भएको ४ महिनाको अध्ययन रिकभर गर्ने गरी चैत ७ गतेबाट २ महिनामा छुटेको पाठ रिकभर गर्ने सहमति भएको छ। ती विद्यार्थीहरुका लागि प्रत्येक शनिबार छुट्टै प्राक्टिकल कक्षा सञ्चालन गर्ने, पहिलो सेमेष्टरको कोर्स सकिएपछि मात्र कलेजले उक्त सेमेष्टरको छुट्टै परीक्षाको व्यवस्था मिलाउने लगायत विषयमा सहमति भएको छ।
सहमतिपत्रमा विद्यार्थीहरुका तर्फबाट अमृत रिजाल, सदीक्षा आचार्य, सदीक्षा चापागाईं, दिपेश पौडेल, श्रद्धा मैनाली, अभिषेक मावो, राजन शाह, प्रशेष जोशी, मनोज न्यौपाने र तमुन्ना कार्कीले हस्ताक्षर गरेका छन् भने कलेजका तर्फबाट प्राडा रामहरि घिमिरे र सल्लाहकार डा केपी शर्माले हस्ताक्षर गरेका छन्।
कलेज र विद्यार्थीहरुबीच सहमति भए पनि विद्यार्थीहरु भने शैक्षिक सुरक्षाको विषयलाई लिएर ढुक्क हुन सकेका छैनन्। एक विद्यार्थी भन्छन्, ‘सहमति त भयो, तर आन्दोलनका क्रममा हामीलाई दिएको धम्कीका कुराले विश्वस्त हुन सकिरहेका छैनौं। आन्दोलनमा अगुवाइ गरेको भन्दै हामीलाई तिमीहरु फर्कने कलेज यही हो, त्यसपछि तिमीहरुको हालत के हुन्छ देखौला भनेका थिए। अब हामी त्यहि कलेज फर्कन लाग्दैछौं, त्यसैले हामी डराएका छौं।’
तीन महिनासम्म आन्दोलनरत विद्यार्थीहरुको गुनासोपछि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई विद्यार्थीको समस्या समाधान नगरे कलेजले पाएको एमबीबीएसको कोटा कटौती गर्ने सांसदहरुले माग गरेका थिए। सोही अनुरुप चिकित्सा शिक्षा आयोगले फागुन २७ मा चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र नोबेल मेडिकल कलेजबीच ७ बुँदे सम्झौता भएको जनाएको थियो। आयोगले निर्धारण गरेको शुल्कबाहेक कुनै पनि शुल्क कलेज प्रशासनले नलिने र विद्यार्थीसँग कुनै पनि शर्त सम्झौता नगराइनेमा कलेज प्रशासन सहमत रहेको जनाएको थियो।
आन्दोलनरत विद्यार्थीहरुले भने नोबेलमा आफूहरू असुरक्षित भएको भन्दै अन्य कलेजमा सारिदिन माग गरेका थिए। तर सम्झौतामा अन्य कलेज स्थानान्तरण नहुने र सोही कलेजमा पढ्ने वातावरण मिलाउने आयोगले जनाएको छ। एक विद्यार्थीले भने, ‘अब कलेजले हामीलाई ब्याकफायर गर्न सक्छ, तीन महिनासम्म आयोगले भनेको पनि नमानेको कलेजले अब विद्यार्थीलाई केही गर्न सक्दैन भन्ने कसरी विश्वास गर्ने?’