काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सहमतिमै नेतृत्व चयन गर्ने भने पनि अध्यक्षबाहेक अन्य पदमा प्रतिस्पर्धा हुने भएको छ। सहअध्यक्षमा दुईजना आकांक्षीले मनोनयन दर्ता गरेपछि सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अन्य पदाधिकारीमा प्रतिस्पर्धा हुने भएको हो।
सहअध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष ईश्वरबहादुर गुरुङ र आशिष श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद आचार्य, कृष्णप्रसाद अधिकारी र दिपिका रिमाल थापाले उम्मेदवारी दिएका छन्। प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनुभन्दा ७ दिन अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यावस्था भएकोले बुधबार उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो।
यही चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको कमलादीमा आयोजना हुने १५औं राष्ट्रिय महाधिवेशनमा यसअघिको १४ औं महाधिवेशनमा भएको सहमतिअनुसार नै सहअध्यक्ष डीके ढुंगानालाई अध्यक्षको रुपमा चयन गर्ने र कसैले पनि उम्मेदवारी नदिने सहमति भए पनि अन्य पदमा उम्मेदवारी दर्ता भएको छ।
प्याब्सनले ‘सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ भन्ने नारासहित आगामी महाधिवेशन सम्पन्न गर्ने भएको छ। अध्यक्षमा सहमति जुटे पनि सहअध्यक्ष लगायतका अन्य पदाधिकारीमा भने आकांक्षी धेरै भएकाले प्रतिस्पर्धा हुने भएको प्याब्सनका महासचिव कुमार घिमिरेले जानकारी दिए। उनले भने, ‘वर्तमान कार्यसमितिका सहअध्यक्ष डीके ढुंगाना अध्यक्ष हुने सहमति भए पनि अन्य सहअध्यक्ष र वरिष्ठ उपाध्यक्ष लगायतका पदामा आकांक्षी धेरै भएपछि सहमति हुन सकेन। उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन हुने पक्कापक्की नै भयो।’
प्याब्सनले १५ औं महाधिवेशनसँगै निर्वाचित हुने नयाँ कार्यसमितिले पठनशैली र पाठ्यक्रममा परिवर्तन, निजी र सार्वजनिक शिक्षालयमा अध्ययन गरेका विद्यार्थीबीचको छात्रवृत्ति विभेद हटाउने, प्रविधिसँग शिक्षालाई जोड्दै सीप, संस्कार र प्रविधिसहितको दक्ष जनशक्ति उत्पादन गर्ने विषयलाई नै प्राथमिकताका साथ अघि बढाउने एजेण्डामा पनि सहमति गरेको छ। सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भएकाले विगतमा जस्तो प्यानल घोषणा नभए पनि निर्वाचन हुने देखिएको छ।
१५ औं राष्ट्रिय महाधिवेशनले तीन वर्षे कार्यकालका लागि एक अध्यक्ष, सहअध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित २७ जना पदाधिकारीहरु र ३९ जना सदस्यसहित ६६ जनाको कार्यसमिति चयन गर्नेछ।