आइतबार, असार २९, २०८२

सहमतिमै नयाँ नेतृत्व चयन गर्दै प्याब्सन, अध्यक्षमा ढुंगाना

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले सहमतिमै नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले सहमतिमै नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ।

आगामी चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा १५औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको प्याब्सनले यसअघिको १४ औं महाधिवेशनमा भएको सहमति अनुसार नै सहअध्यक्ष डीके ढुंगानालाई अध्यक्षको रुपमा चयन गर्ने भएको हो। 

प्याब्सनले ‘सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ भन्ने नारासहित आगामी महाधिवेशन सम्पन्न गर्ने भएको छ। अध्यक्षमा सहमति जुटे पनि उपाध्यक्ष लगायतका अन्य पदाधिकारीमा भने आकांक्षी धेरै भएकाले प्रतिस्पर्धा हुन सक्ने वर्तमान कार्यसमितिका सहअध्यक्ष ढुंगानाले बताए। उनले भने, ‘अध्यक्षको रुपमा सहअध्यक्ष अघि बढ्ने सहमति भएको छ।

पेशागत संगठन भएकाले राजनीतिक दलहरुमा विभाजन र परिवर्तन भए पनि प्याब्सनमा यसको कुनै प्रभाव छैन। पेशागत मुद्दा बाकेर अघि बढ्ने प्रण गरेका छौं। सबै पदमा सहमति जुटाउने प्रयास भए पनि केही पदमा भने निर्वाचन हुने देखिएको छ।’ नेतृत्वमा पुग्ने शिक्षकको क्षमता वृद्धि गर्ने, नयाँ शैक्षिक वातावरण बनाउने र सरकारको शिक्षा नीतिका विषयमा प्याब्सनको ध्यान केन्द्रित हुने उनको भनाइ छ। 

प्याब्सनले १५ औं महाधिवेशनसँगै निर्वाचित हुने नयाँ कार्यसमितिले पठनशैली र पाठ्यक्रममा परिवर्तन, निजी र सार्वजनिक शिक्षालयमा अध्ययन गरेका विद्यार्थीबीचको छात्रवृत्तिको विभेद हटाउने, प्रविधिसँग शिक्षालाई जोड्दै सीप, संस्कार र प्रविधिसहितको दक्ष जनशक्ति उत्पादन गर्ने विषयलाई नै प्राथमिकताका साथ अघि बढाउने एजेण्डामा पनि सहमति गर्ने भएको छ।

नयाँ शिक्षा ऐन बन्दै गर्दा यसको आवश्यकता र निजी शिक्षण संस्थालाई राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन ल्याउने किसिमबाट ऐन निर्माण हुनुपर्ने तर्क उनीहरुको छ। ६ खर्बको लगानी भएको क्षेत्रलाई राज्यले संरक्षण हुनेगरी अगाडि बढ्नुपर्ने सहअध्यक्ष ढुंगानाको भनाइ छ। नयाँ नेतृत्वको विषयमा उनले भने, ‘तीन वर्षका लागि समय दिन सक्ने स्रोतको खोजी गर्ने, पोलिसी लेभलमा काम गर्न सक्ने साथीहरु नै नेतृत्वमा आउनुपर्छ।’ 

आगामी महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भएकाले विगतमा जस्तो प्यानल बनाएर चुनाव हुने प्याब्सनले यसअघि नै पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ। प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आगामी दिनहरुमा विगतमा जस्तो प्याब्सनमा राजनीतिको रङ नदेखिने बताउँदै लोकतान्त्रिक व्यवस्थामा नेतृत्व लिन सबैले सक्ने बताए। उनले भने, ‘सकेसम्म नेतृत्व चयन सर्वसम्मत हुन्छ। चुनावै भए पनि प्यानल हुँदैन र बेग्लाबेग्लै उम्मेदवार हुन्छन्।’

पहिलो पटक विद्युतीय प्रणालीबाट निर्वाचन गर्ने तयारी गरिएको महाधिवेशन उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अध्यक्ष पुरीले बताए। त्यसैगरी प्याब्सनले १४ करोडको लागतमा खरिद गरेको भवनको उद्घाटन महाधिवेशन उद्घाटनकै दिन बिहान ८ः३० बजे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको हातबाट गर्ने भएको छ।

यसका साथै प्याब्सनले कोशी बाढी पीडित समुदायका लागि सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले उपलब्ध गराएको एक विगाह जग्गामा प्याब्सन सदस्य विद्यालयहरुको योगदानबाट संकलित १ करोड ५० लाखको लगानीमा निर्मित ‘प्याब्सन सामूहिक बस्ती’ को हस्तान्तरण कार्य चैत १ गते गर्ने तयारी गरेको छ।

१५औं राष्ट्रिय महाधिवेशनले तीन वर्षे कार्यकालका लागि एक अध्यक्ष, सहअध्यक्ष र वरिष्ठ उपाध्यक्ष सहित २७ जना पदाधिकारी र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्नेछ।

प्रकाशित: Mar 13, 2022| 14:06 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्