बालापन अबोध हुन्छ। राम्रो बानिको विकास गर्ने, इम्युनिटी पावर बढाउने र धेरै कुरा सिक्ने उमेर पनि यही हो।
सानोमा बालबालिकाको जिज्ञासु स्वभाव हुन्छ। हामीले जस्तो शिक्षा दियौं पछिसम्म उनीहरूले जीवनमा त्यही कुरा लागू गरिरहेका हुन्छन्। यो उमेरमा राम्रो बानि र धेरै कुरा सिकाइयो भने जीवनभर काम लाग्छ। बच्चाको बौधिक विकासका लागि पनि यो उमेर उपयोगी हुन्छ।
यो बेला हामीले बच्चाको मानसिक क्षमता बढाउने कुरामा ध्यान दिनुपर्छ। हामीले कुनै खेलको माध्यमबाट वा अन्य रचनात्मक तरिकाले दिमाग बढाउन सक्छौं।
जब बच्चाहरू ओरपरका चिज चिन्न थाल्छन् तब उनीहरू केही सिक्नका लागि तयार भइसकेका हुन्छन्। एक साल पुग्दा बच्चाले धेरै कुरा सिकि सकेको हुन्छ। कुनै कुरा देख्दा पछि लाग्ने, उभिन खोज्ने, कुरालाई ध्यान दिएर सुन्ने गर्न थाल्छन्।
संगीतलाई सबैले मन पराउँछन्। हामीले बच्चाहरूलाई संगीतका माध्यमबाट धेरै कुरा सिकाउन सक्छौं। आफ्नो बच्चालाई बाल गीत गाउन सिकाउने वा कुनै बाल गीतको माध्यमबाट केही पढाउने गर्नुपर्छ। यस्तो गर्दा बच्चाको सिकाइ मात्र बढ्ने नभएर इमोश्नल भावना पनि बढ्न थाल्छ।
बच्चालाई जनावर निकै मन पर्छन्। त्यसैले उनीहरूले सहज रूपमा जनावरको आवाज निकाल्ने गर्छन्। हामीले पनि जनावरको आवाज निकाल्दै बच्चालाई त्यही आवाज कपी गर्न लगाउनुपर्छ। यो गर्दा बच्चाको सिकाइ क्षमता बढ्छ।
सबै बच्चालाई कुनै न कुनै चिज मन पर्छ। त्यसलाई उनीहरू आँखा अगाडिबाट हटाउन चाहन्न। बच्चालाई मन पर्ने चिज लुकाइदिएर खोज्न भन्नुपर्छ। यसले बच्चाको एक्लिभ नेशलाई बढाउँछ। र, स्मरणशक्ति पनि बढ्छ।
बच्चाको इमेजिनेशनलाई बढाउनका लागि हामीले आर्टको सहयोग लिन सक्छौं। बच्चालाई कलर र ड्रोइङ पेज दिनुपर्छ। र, त्यसमा उसलाई मन पर्ने चिज बनाउन भन्नुपर्छ। डाइग्राममा चहकिलो रंगको प्रयोग गर्नुपर्छ। किनकी बच्चालाई यस्ता रंग मन पर्छन्।
बालबालिकाको शरीर तथा मस्तिष्कको विकास स्वस्थ राख्नका लागि पौष्टिक आहारको पनि महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले खानामा सबै पौष्टिक तत्व छ भने शारीरिक तथा मानसिक विकास तीब्र रुपमा हुने गर्छ। सामान्य एक स्वास्थ्य व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेर सम्ममा भइसकेको हुन्छ। यस्तो अवस्थामा बच्चाको खानपानमा विशेष ध्यान दिनु पर्छ।
बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, मिनिरल्स, फ्याटी एसिड युक्त सन्तुलित भोजन चाहिने हुन्छ। यसले शरीर र दिमागको उर्जा कायम राख्छ। बालबालिकाको मष्तिष्कको विकासका बारेमा गरिएको एक अध्ययनमा आमाले खाने गरेको खानपानको असर समेत पेटमा भएको बच्चाको दिमागमा पर्ने तथ्य सार्वजनिक भएको थियो। यदि आमाले गर्भावस्थामा ओमेगा ३ फ्याटी एसिड युक्त खानाको बढी सेवन गरेकी छिन् भने बच्चाको दिमाग एकदम तेज हुने साबित भइसकेको छ ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका अध्ययनका अनुसार ओमेगा ३ फ्याटी एसिड टुना, माछा तथा हरियो सागसब्जी बढी पाइने हुन्छ। यसैले बच्चाको स्वस्थ र तेज दिमागका लागि आमाले गर्भावस्थामा यस्ता पदार्थ भएको खाद्यपदार्थ सेवन गर्न आवश्यक देखिन्छ। अझ परीक्षाका क्रममा बालबालिकालाई आफुले पढेको कुरा याद छ कि छैन भन्ने कुराले तनाव दिइरहेको हुन्छ।
खानेकुराले नै बालबालिकाको दिमाग तेज गर्न मद्दत गर्नुका साथै मन पनि शान्त रख्दछ । काजु तथा ओखर जस्ता ड्राइ फुडहरु मा रहेको भिटामिन ‘बि १’ , फाइबर, म्याग्नेसियम फलिक एसिड र भिटामिन ‘ इ’ ले दिमागको विकास गर्न मद्दत गर्छ। स्मरणशक्ति बढ्नुका साथै शरीरलाई पनि तन्दुरुस्त राख्न मद्दत गर्छ।
दैनिक थोरैमात्रामा ओखर खुवाउँदा बिर्सिने बानीमा सुधार आउने भएकोले ओखरलाई ब्रेन फुड भन्ने गरिन्छ। बदामले पनि दिमागलाई तेज राख्न मद्दत गर्छ। बच्चाको दिमागको विकासका लागि हरियो सागसब्जी खुवाउने गर्नु पर्छ।
बच्चालाई ६ महिनापछि ठोस आहार दिइन्छ भने ९ महिना देखि माछा मासु समेत खुवाउन सकिन्छ। खानामा पालुंगो, बन्दा, माछा जस्ता पदार्थ दिन सकिन्छ। यिनमा ओमेगा ३ फ्याटी एसिड प्रसस्त मात्रामा पाइन्छ। ओमेगा ३ फ्याटी एसिडले स्मरण शक्तिलाई तेज बनाउनुका साथै मूडलाई पनि राम्रो बनाउने गर्छ।
बच्चाको दिमागको विकासका लागि दूध र दही दिन आवश्यक हुन्छ। दहीले दिमागको कोषलाई लचिलो बनाएर संकेत लिने र त्यसमा तत्काल प्रतिक्रिया जनाउने क्षमताको वृद्धि गर्दछ। दहीमा भर पूरमात्रामा प्रोटिन, म्याग्नेशियम हुन्छ जसले मस्तिस्कलाई शितलता प्रदान गरेर स्मरण शक्तिलाई तीव्रता दिन मद्दत गर्छ।
चिल्लोरहित दूधमा प्रसस्त मात्रामा पाइने प्रोटिन, भिटामिन डी र फस्फोरस दिमागका लागि एकदम जरुरी हुन्छ। ओलिभ आयलमा भिटामिन इ, भिटामिन के र प्रोटिनको मात्रा धेरै पाइने हुदा स्मरण शक्तिलाई बढाउनुका साथै दिमागमा हुने तनावलाई कम गर्दछ।