काठमाडौं- ‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय तथा देशभरका आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरू आन्दोलित भएका छन्।
मंगलबारदेखि त्रिवि तथा सबै आंगिक क्याम्पसहरुको क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेका हुन्। संघर्ष समितिका अध्यक्ष गोकुल लेछ्वो लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य र प्रवक्ता एलबी विष्टले संयुक्त विज्ञप्ति जारी गर्दै आंशिक प्राध्यापकहरुको माग सम्बोधन नभएसम्म तालाबन्दी कायम रहने घोषणा गरेका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर दुई हजार दुई सय आंशिक प्राध्यापक कार्यरत छन्। विश्व विद्यालय जस्तो प्राज्ञिक, वौद्धिक थलोमा आफूहरु माथि १७ वर्षदेखि अन्याय, विभेद, बौद्धिक श्रम शोषण भइरहेको गुनासो आंशिक प्राध्यापकहरुको छ।
चार हजार पाँच सय सेवा निवृत्त प्राध्यापकहरुको कक्षा भारसहित त्रिभुवन विश्व विद्यालयको लगभग ६५ प्रतिशत कक्षाभार आंशिक प्राध्यापकले धानेपनि दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लान माग गर्दा अटेर गरेको उनीहरुको भनाइ छ।