काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना संक्रमण मुक्त भएका छन्। दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना संक्रमण मुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप संक्रमित देखिएको छैन।
कोरोना संक्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन्। पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक/एक सक्रिय संक्रमित रहेको जिल्लास्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी)ले जनाएको छ।
केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण नपाइएको र बिहीबार १३ जना संक्रमण मुक्त भएका हुन्। जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन्। जिल्लामा हाल १६ सक्रिय संक्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार संक्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म संक्रमणदरभन्दा संक्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले देखाएको थियो।
जिल्लामा हालसम्म १७ हजार ५५० मा संक्रमण देखिएकामा १९५ को मृत्यु भएको छ। कोरोना संक्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृत्यु भएको थियो। हालसम्म कूल संक्रमितमध्ये ९८ दशमलब ७९ प्रतिशत अर्थात् १७ हजार ३३९ संक्रमण मुक्त भइसकेका छन्।