काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सन् २०२१ देखि २०२६ सम्म पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत एचआइभी संक्रमणलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ।
बिहीबार मन्त्रालयका सचिवद्वय डा. रोशन पोखरेल र देवकुमारी गुरागाईंले संयुक्तरूपमा सो सार्वजनिक गरेका हुन्। सचिव गुरागाईंले एचआईभी दिगो विकास लक्ष्यमा पुग्नका लागि एचआईभी संक्रमण नियन्त्रण गर्न योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले नेपाल सरकारले एचआइभी नियन्त्रण गर्न लागि परेको र यसमा दातृ निकायको पनि सहयोग आवश्यक भएको बताए।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले एचआइभी संक्रमितप्रति समाजले हेर्ने व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले रणनीतिक योजनाले एचआईभी नियन्त्रण गर्न सहयोग गर्ने बताए। उनले एचआईभी रोग स्वास्थ्य रोग मात्र नभएर सामाजिक रोग भएकोले सबैको सहयोगबाट नियन्त्रण गर्न सकिने बताए।
केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरले अहिलेको रणनीतिक योजना यसअघिको सन् २०१६ देखि २०२१ रणनीतिक योजनाकै निरन्तरता रहेको भन्दै सन् २०३० सम्म एचआइभी-एड्सको अन्त्य गर्ने लक्ष्य हासिल गर्ने सहयोगी बन्ने बताए।
उनले रणीतिक योजनाअनुसार सन् २०२६ सम्म एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतमा एचआइभीको अवस्था पहिचान गर्ने, ९५ प्रतिशतलाई उपचारको व्यवस्था गर्ने र ९५ प्रतिशत सङ्क्रमितमा भाइरसको भार न्यूनीकरण गर्ने बताए। उनले यस रणनीतिक योजनाले नयाँ एचआइभी सङ्क्रमण र एड्सबाट हुने मृत्युदरमा कमी ल्याउँदै एचआइभी सङ्क्रमितको स्वास्थ्य र समग्र अवस्थाको सुधार ल्याउने बताए।
योजनामा नयाँ एचआइभी सङ्क्रमणलाई ९० प्रतिशतले कम गर्ने, आमाबाट बच्चामा एचआइभी सङ्क्रमण उन्मूलन गर्ने, जन्मजात भिरङ्गीको केस दर प्रतिलाख जीवित जन्ममा ५० वा सोभन्दा कम गर्ने लक्ष्य राखिएको छ। योजनामा एचआइभी सङ्क्रमित व्यक्तिको स्वास्थ्यसम्बन्धी परिमाणमा सुधार ल्याउने, एचआईभी सङक्रमित तथा मुख्य समूहमा एचआइभी सम्बन्धित असमानतामा कमी ल्याउने उल्लेख छ।
यस्तै १५ देखि २४ वर्ष उमेर समूहका युवामा एचआइभी व्याप्तता दर ०.०२० प्रतिशतमा ल्याउने तथा प्रतिएक हजार जनसङ्ख्यामा एचआइभी सङ्क्रमण ०.०२० प्रतिशतमा ल्याउने लक्ष्य राखिएको छ। अहिले १५ देखि ४० वर्ष उमेर समूहमा एचआइभी व्याप्तता दर ०.१३ प्र्रतिशत रहेको छ। नेपालमा सुईद्वारा लागुऔषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क गर्ने, यौनकर्मी पुरुष तथा महिला र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी, आप्रवासी कामदार र कैदीबन्दी एचआइभी सङ्क्रमणको उच्च जोखिममा छन्।
अहिले नयाँ सङ्क्रमण दर प्रवासीमा २५ प्रतिशत, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष तथा ट्रान्सजेण्डर व्यक्तिमा १९ प्रतिशत छ। महिला यौनकर्मीमा नौ प्रतिशत, पुरुष यौनकर्मीमा आठ प्रतिशत र सुईबाट लागुपदार्थ लिने व्यक्तिमा दुई प्रतिशत रहेको छ। नेपालमा अहिलेसम्म ३७ हजार ५९६ जना सङ्क्रमित रहेका छन्। सरकारले सन् २०३० को अन्त्यसँगै एचआइभी तथा एड्सको महामारीको पनि अन्त्य गर्ने लक्ष्य लिएको छ।