काठमाडौं- नेकपा माओवादी केन्द्र निकट शैक्षिक परामर्श व्यवसायीले आफूहरूको व्यवसायमा धरौटी राखे आन्दोलन गर्ने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई मन्त्रालयमा भेटेर ध्यानाकर्षण गराउँदै व्यवसायीले यस्तो चेतावनी दिएका हुन्।
‘सरकारले धरौटीको व्यवस्था गरे सबै परामर्श व्यसायी आन्दोलनमा उत्रिनुको विकल्प छैन,' माओवादी केन्द्र निकट शैक्षिक परामर्श व्यवसायी शाखा कमिटीका अध्यक्ष युवराज कटुवालले भने। व्यवसायीको भावना, अवस्था र अनुकुलतालाई विचारै नगरी एक पक्षीय ढंगले नीति ल्याउन खोजिए आफूहरु जस्तोसुकै रुपमा पनि त्यसको खरो प्रतिवाद गर्न पछि नपर्ने कटुवालको भनाइ छ।
शैक्षिक परामर्श तथा भाषा शिक्षण नियमावली तर्जुमा गर्ने र त्यसमा धरौटीको प्रावधान राख्ने तयारी गरिएको विषयमा नेपाल समयमा समाचार प्रकाशन भएको थियो।
शैक्षिक परामर्श व्यवसायमा धरौटीको व्यवस्था भए निश्चित व्यक्तिको हातमा व्यवसाय पुग्ने हुँदा साना व्यवसाय बन्द हुने अवस्थामा पुग्ने भएकाले त्यसमा मन्त्रालयको ध्यानाकर्षण गराइएको व्यवसायीको भनाइ छ।