सोमबार, असार ३०, २०८२

त्रिविमा आइतबारदेखि भौतिक कक्षा, शैक्षिक सत्र चुनावअघि नै सक्ने सरकारको योजना

त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्ने भएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्ने भएको छ। विश्वविद्यालयले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिर्म पठनपाठन सञ्चालन हुने जनाएको हो। 

त्रिवि कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस संक्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले  जानकारी दिए।

जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न त्रिविले आफ्ना मातहतका क्याम्पस र विभागहरुलाई सूचित गरेको छ। कोरोना भाइरसको तेस्रो लहर बढ्दै गएपछि त्रिविले माघ पहिलो सातादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो। स्थगित परीक्षा सञ्चालन गर्न त्रिविले गत माघ १९ गते परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।

यसैबीच, स्थानीय तहको निर्वाचनअघि नै कक्षा १ देखि १० को शैक्षिक सत्र अन्त्य गरी परीक्षासमेत सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ। चुनावका कारण पठनपाठन प्रभावित हुन सक्ने भएकाले बोर्डले त्यसअघि नै परीक्षा सक्ने योजना बनाएको हो।

बोर्डले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरूसँग परीक्षा सञ्चालनका विषयमा छलफल गरेको छ। त्यसक्रममा प्रमुखहरूले ७० प्रतिशत पाठ्यक्रम पूरा भएकाले फागुन र चैत महिनाभर कक्षा सञ्चालन हुन सके वैशाखमा परीक्षा गर्न सकिने बताएका थिए। ३० प्रतिशतमात्रै पाठ्यक्रम बाँकी रहेकोको अवस्थामा दुई महिना कक्षा सञ्चालन हुन पाए वैशाखमा परीक्षा लिन सकिने बोर्डको भनाइ छ।

बोर्डले वैशाख ९ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्न समय तालिका प्रकाशित गरिसकेको छ। विद्यालयहरू मतदान केन्द्रका रूपमा प्रयोग हुने भएकाले पनि त्यसअघि नै पढाइ र परीक्षा सक्नुपर्ने दबाबमा बोर्ड छ। वैशाखमा नै भर्ना अभियानसमेत सञ्चालन गर्न सके जेठ १ गते नयाँ शैक्षिक सत्र सुरु गर्न सकिने मन्त्रालयको योजना छ।

शिक्षाविद्हरूले पनि फागुन र चैतभर निरन्तर कक्षा सञ्चालन गरेर चुनावअघि नै परीक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। कोभिडको तेस्रो लहरका कारण बन्द विद्यालय फागुन १ देखि सञ्चालन गर्न सरकारले अनुमति दिइसकेको छ। जोखिम कम रहेका अधिकांश पालिकाले यसअघि नै विद्यालय सञ्चालन गर्न थालिसकेका छन्। 

फागुन पहिलो सातादेखि त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालय र सीटीईभीटीलगायत शिक्षण संस्थाको स्थगित परीक्षा पनि सञ्चालन हुँदैछ।

प्रकाशित: Feb 11, 2022| 13:02 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्