काठमाडौं- सरकारले गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने बताएको छ। विद्यार्थीलाई विदेश पठाउँदा प्रचलित कानुन विपरीत काम गरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने गृह मन्त्रालयले जानकारी दिएको हो।
'गैरकानुनी काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा ईजाजत नलिई अनलाईन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिको रुपमा कार्य गर्ने व्यक्तिहरु उपर सरकारले निगरानी गरिरहेको छ,' गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'त्यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।'
गैरकानूनी रुपमा काम गरेको संस्थाहरु/व्यक्तिविरुद्ध सम्बन्धित व्यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरुमा जानकारी, सूचना, उजुरी दिन गृहले आग्रह गरेको छ।
यसका साथै वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पुरा गरेर मात्र अध्यनका लागि जान सूचित गरेको छ।