मंगलबार, असार ३१, २०८२

शिक्षामन्त्रीले मागे विश्वविद्यालय सुधार योजना, सरकारले सुरक्षा नदिएको उपकुलपतिको गुनासो

‘विभिन्न राजनीतिक दलका मान्छेहरुले १ सय ४९ दिन तालाबन्दी गरे। हामी असुरक्षित छौं भनेर गृह मन्त्रालयलाई सुरक्षाको माग गर्दा विश्वविद्यालयमा प्रहरी पठाउन मिल्दैन भन्नुहुन्छ,’ उपकुलपतिको भनाइ छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग विश्वविद्यालय सुधारका योजना मागेका छन्। सोमबार मन्त्रालयमा त्रिभुवन विश्विद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना माग गरेका हुन्। 

‘मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ,’ मन्त्री पौडेलले भने, ‘देशका ८० प्रतिशत विद्यार्थी ओगटेको विश्वविद्यालयले नयाँ योजना दिनुपर्‍यो हामी कार्यान्वयनको प्रक्रियामा लैजान्छौं।’

मन्त्री पौडेलले वार्षिक १ खर्बभन्दा बढी रकम मेडिकल शिक्षाका लागि विदेश गइरहेको बताउँदै काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले त्यसलाई रोकेर नेपालमै विद्यार्थीलाई पढ्ने वातावरणको सिर्जना गर्नुपर्ने बताए। 

‘काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्विद्यालयले मेडिकल कलेज पढ्ने विद्यार्थीको लागि सोच्नुपर्छ। काउन्सिलको परीक्षासहित अध्ययनको व्यवस्था यही गरौं। विद्यार्थीले नेपालमै पढ्ने कुरामा हामीले ढोका खोलिदिनुपर्छ,’ उनले भनेका थिए। 

विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिएका थिए।

परीक्षा प्रणालीमा सुधार तथा विकेन्द्रीकरण, बजारमुखी देशको आवश्यकतानुसारको जनशक्ति उत्पादन, आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको प्रभावकारी नियमन, उच्च शिक्षा तर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, सुशासनमा जोड लगायतका १५ बुँदे सुधार योजना प्रस्तुत गरेका थिए। उपकुलपति देवकोटाले राजनीतिक आडमा विभिन्न संगठनले तालाबन्दी गर्दा विद्यार्थीको पढाई प्रभावित भएको बताए। 

‘विभिन्न राजनीतिक दलका मान्छेहरुले १ सय ४९ दिन तालाबन्दी गरे। हामी असुरक्षित छौं भनेर गृह मन्त्रालयलाई सुरक्षाको माग गर्दा विश्वविद्यालयमा प्रहरी पठाउन मिल्दैन भन्नुहुन्छ,’ उनको भनाइ छ। 

४० वर्षअघिका भौतिक संरचना २०७२ सालको भुकम्पले क्षति भएर रातो स्टिकर लगाइसेकपनि त्यही बसेर विद्यार्थीले अध्ययन गर्नुपर्ने बाध्यता रहेकोप्रति उपकुलपति बाँस्कोटाले मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: Jan 31, 2022| 20:01 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्