मंगलबार, असार ३१, २०८२

काठमाडौं विश्वविद्यालयले स्नातक तहमा बीटेकएड सञ्चालन गर्ने

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले ब्याचलर इन टेक्निकल एजुकेसन (बीटेकएड) सञ्चालन गर्ने भएको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले ब्याचलर इन टेक्निकल एजुकेसन (बीटेकएड) सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्ने उद्देश्यले बीटेकएड सञ्चालनको तयारी गरेको हो। 

विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुइँटेलले बीटेकएड कार्यक्रम सञ्चालन गर्न देशभरका तीनवटा क्याम्पसलाई अनुमति दिइसकेको र यही शैक्षिक सत्रबाट सञ्चालनको तयारीमा रहेको बताए। प्राविधिक शिक्षामा इन्सट्रक्टर अभाव भएकाले यसलाई ध्यानमा राख्दै जनशक्ति उत्पादनमा यस विषयको अध्यापनले सहयोग पुग्ने उनको भनाइ छ।

देशभर सीटीईभीटी अन्तर्गत १ हजार १३१ वटा शिक्षालयमा ७० हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यी विद्यार्थीलाई अध्यापन गराउने इन्सट्रक्टर अभाव भएकाले यसतर्फका जनशक्ति उत्पादनमा विश्वविद्यालयले जोड दिँदै टिआईटिआईको इन्सट्रक्टर, स्कुल अफ एजुकेसनले टेक्निकल म्यानेजर, विश्वभर प्राविधिक शिक्षा अध्ययन गराउने शिक्षक सहजकर्ताको रुपमा जनशक्ति उत्पादनमा यास विषयको महत्वपूर्ण भूमिका हुने विश्वविद्यालयले जनाएको छ।

बीटेकएड १३६ क्रेडिट आवरको अक्षरांकन विधिबाट मूल्यांकन हुने चार वर्षे स्नातक तहको कार्यक्रम हो। विश्वविद्यालयबाट सम्बन्धन पाएका प्राविधिक तथा व्यावसायिक शिक्षालयमा अध्ययन गर्न विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने हुन्छ। प्रवेश परीक्षामा सहभागी हुन कक्षा १२ मा भौतिक शास्त्र र गणितलाई मूल विषय बनाए उत्तिर्ण गरेको विद्यार्थी, ९ देखि १२ कक्षामा इन्जिनियरिङ पढेका विद्यार्थी सहभागी हुन पाउँछन्। यस विषय अध्ययनका लागि ४ वर्षमा ५ लाख ७२ हजार शुल्क निर्धारण गरिएको छ।

विश्वविद्यालयको सम्बन्धनमा जानकी कलेज अफ प्रोफेसनल स्टडिज, जनकपुरमा आईटी विषयका लागि ३० जना, सिन्धुली टेक्निकल इस्न्टिच्युटमा आईटीका लागि २० जना र सिभिलका लागि २० जनाको कोटा निर्धारण गरेको छ। यस्तै बुटवल टेक्निकल इन्सिटच्युट रुपन्देहीमा मेकानिकल इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले अध्ययन गर्न पाउँछन्। देशभर यस वर्ष एक सय जना विद्यार्थीले बीटेकएड पढ्न पाउने विश्वविद्यालयले जनाएको छ।

बीटेकएडको उद्देश्य कक्षा १२ सम्म प्राविधिक जनशक्ति उत्पादन गर्ने, अकुपेशनल टेक्निकल भोकेशनल एजुकेशन कसरी पढाउने भन्ने विषयमा यो विषय उत्तिर्ण गरेका विद्यार्थीले दक्षता हासिल गर्ने विश्वविद्यालयले जनाएको छ।

अहिले विश्वविद्यालयले सिभिल, मेकानिकल र इन्फरमेसन टेक्नोलोजीतर्फ प्राविधिक शिक्षालयमा इन्जिनियरिङ अध्यापन गराउने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरेको छ। यस विषयको पाठ्यक्रममा इन्टर्नसिपको पनि व्यस्था गरिएको छ।

बीटेकएड अध्ययनपश्चात उच्च शिक्षामा मास्टर अफ सस्टेनेवल डेभलपमेन्ट, एमए, एमएड, टेक्निकल भोकेसननल म्यानेजमेन्टका विषय अध्ययन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले यसका लागि डिनको अध्यक्षता अध्यापन गराउने संस्थाको क्षमता अभिवृद्धि गर्ने, जनशक्ति परिचालनमा सहयोग गर्ने काम गर्नेछ। विश्वविद्यालयका डिन लुइँटेलले प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) ले इन्सट्रक्टरको लाइसेन्स दिने प्रावधान गराउने तयारी गरेको र यो विषय अध्ययन गरेका जनशक्तिले अनुमतिपत्र पाउने बताए। शिक्षक सेवा आयोगले प्राविधिक धारतर्फका शिक्षकलाई अध्यापन अनुमतिपत्र जारी गर्ने व्यवस्था गरेको छैन ।

स्नातक तह अध्ययनपश्चात स्नातकोत्तर तहमा विद्यार्थीले मास्टर्स लेभलमा एमटेकएड अध्ययन गर्न पाउँछन्। विभिन्न क्षेत्रका अन्य विषय पनि अध्ययन गर्ने बाटो खुल्ला हुने विश्वविद्यालयले जनाएको छ। विद्यार्थीले एमटेक अध्ययन गर्न पाउँछन्। यस विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि विश्वविद्यालयले जनवरी १७ तारिखमा फारम खुला गरेको छ। विद्यार्थीले फेब्रुअरी २१ सम्म उक्त फारम भरेर फेब्रुअरी २२ मा हुने प्रवेश परीक्षामा सहभागी हुन पाउँछन्। 


प्रकाशित: Jan 30, 2022| 14:41 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्