मंगलबार, असार ३१, २०८२

'स्मार्ट लकडाउन'सँगै एनओसी लिने विद्यार्थीको संख्या बढ्यो

यसअघि एनओसीका लागि दैनिक ३ सयसम्म आवेदन आउने गरेकोमा अहिले दैनिक ६ सय आवेदन आउन थालेको गरेको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयअन्तर्गत एनओसी शाखाले जानकारी दिएको हो।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं- कोरोना संक्रमण बढेसँगै सरकारले काठमाडौं उपत्यकामा 'स्मार्ट लकडाउन' गरेपछि विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ। यसअघि एनओसीका लागि दैनिक ३ सयसम्म आवेदन आउने गरेकोमा अहिले दैनिक ६ सय आवेदन आउन थालेको गरेको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयअन्तर्गत एनओसी शाखाले जानकारी दिएको हो। 

कोभिड-१९ को संक्रमण बढ्दै जादाँ एनओसी शाखा पनि बन्द हुने डरले एनओसी लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको शाखाका प्रमुख हरिप्रसाद निरौलाले जानकारी दिए। 'स्वदेश तथा विदेशमा लकडाउन हुनसक्ने र विदेश अध्ययनका लागि आवेदन दिन 'नो अब्जेक्सन लेटर' लिन नपाइने डरले विद्यार्थीले हतार गरेजस्तो देखिएको छ,' शाखा प्रमुख निरौलाले भने, 'माघ ४ गतेदेखि १० गतेसम्म ७ दिनमा ३ हजार ६ सय ३ जनाले विदेश अध्ययन अनुमतिपत्रका लागि आवेदन दिएका छन्।'

उनका अनुसार पुस १५ पछि मात्र ६ हजारभन्दा विद्यार्थीले एनओसी प्रमाणपत्र लिइसकेका छन्। सोमबार मात्रै ४ सय ६४ जनाले एनओसी प्रमाणपत्र लिएका थिए।

अनलाइन माध्यमबाट आवेदन फाराम भरेर बुझाएका शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण भएपछि बैंकमा रकम जम्मा गरेर विद्यार्थीहरु एनओसी लिन शाखामा जानुपर्ने भएपनि केही विद्यार्थी आवेदन फाराम भर्ने बित्तिकै जाने भएकाले व्यवस्थापनमा केही समस्या हुने गरेको निरौलाको भनाइ छ। 'विद्यार्थीलाई सहजीकरण गर्नका लागि हामीले रातिसम्म काम गरेर भएपनि काजगपत्र जाँच गरेर एनओसी जारी गर्ने गरेका छौं,’ उनले भने। 

चालु आवमा शाखाले ३२ हजार ७ सय ३७ जना विद्यार्थीलाई एनओसी प्रदान गरेको छ। २०७७ भदौ १२ गतेबाट अनलाइन प्रणालीबाट आवेदन सुरु भएसँगै एनओसी जारी गरेबापत सरकारले १२ करोड ७९ लाख ६२ हजार राजस्व संकलन गरेको छ।

प्रकाशित: Jan 25, 2022| 15:00 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्