काठमाडौं– संयुक्त विद्यार्थी संगठनले बढी शुल्क लिने मेडिकल कलेजहरुको सम्बन्धन खारेजीको माग गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापालाई ज्ञापनपत्र बुझाएका छन्।
विद्यार्थी संगठनले काठमाडौं विश्वविद्यालको सम्बन्धनमा सञ्चालित मेडिकल कलेजहरुले विगत लामो समयदेखि चिकित्सा क्षेत्रका विद्यार्थीहरुमाथि विभिन्न बहानामा लुट मच्चाइरहेको र विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क लिई ठगी धन्दा चलाउन खोज्ने कलेजलको सम्बन्धन खारेज गर्न माग गरेका हुन्।
काठमाडौं विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरु काठमाडौं मेडिकल कलेज, सिनामंगल र नोबेल मेडिकल कलेज मोरङले २०७८ को नयाँ भर्नामा एमबीबीएस, बीडीएस र बीएनएसका विद्यार्थीबाट अतिरिक्त शुल्कबापत करिब ५ लाख रकम लिएको पाइएको र ऐच्छिक हुनुपर्ने छात्रावास अनिवार्य र चर्को शुल्क लिएर भर्ना हुन दबाब दिने दुईवटा मेडिकल कलेजको सम्बन्धन खारेजीको माग गरेका छन्।
काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीहरु मंसिर १९ गतेदेखि आन्दोलित छन्। विद्यार्थीका जायज मागहरूको सम्बोधन गर्नुको साटो चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयले एक अर्कालाई दोषी देखाएर पन्छिने र मेडिकल माफियाले विद्यार्थीलाई निरन्तर ठगि गरेको प्रति संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। माघ ९ गते बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले मेडिकल कलेजका विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनमा ऐक्यबद्धतासहित आन्दोलनका चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो।
संयुक्त विद्यार्थी संगठनका तर्फबाट नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल कान्तिकारी अध्यक्ष पन्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ लगायतले विश्वविद्यालयको ध्यानाकर्षण गराएका थिए।