बुधबार, साउन १, २०८२

एसईई वैशाखमा र एसएलसी जेठमा गर्ने बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा र कक्षा १२ को एसएलसी परीक्षा जेठमा सञ्चालन गर्ने भएको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा र कक्षा १२ को एसएलसी परीक्षा जेठमा सञ्चालन गर्ने भएको छ। 

व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखे पनि बोर्डले एसईई परीक्षा सञ्चालन गर्ने जिम्मेवारी बोर्डमै रहेकाले आगामी वैशाखमा परीक्षा सञ्चालन गर्ने गरी तालिका बनाउन लागिएको जनाएको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले छिट्टै परीक्षा तालिका सार्वजनिक गर्ने बोर्डले तयारी गरेको बताए। 

उनले भने, ‘ शैक्षिक सत्रलाई असर नपर्ने गरी वैशाखमा एसईई परीक्षा सञ्चालन हुन्छ। परीक्षाको व्यवस्थापन गर्ने नीतिगत जिम्मेवारी बोर्डमा नै छ। एसएलसी परीक्षा जेठमा गर्ने तयारीमा छौं। प्रादेशिक हिसाबले गर्ने भने पनि अहिलेको परिस्थितिमा त्यो सम्भव छैन। वैकल्पिक माध्यमबाट भए पनि परीक्षा गर्नुपर्छ। शिक्षण सिकाइलाई वैकल्पिक माध्यमबाट भए पनि निरन्तरता दिनुपर्छ। बोर्ड त्यसैको तयारीमा छ।’

परीक्षा कुन विधि अपनाएर सञ्चालन गर्ने विषयमा छलफल गर्ने र सिसिएमसी निर्देशन अनुसार स्वास्थ्यको मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी परीक्षा सञ्चालन हुने उनको भनाई छ।

बोर्डका अध्यक्ष डा. शर्माले तालिका सार्वजनिक भएपछि परीक्षाका बारेमा विद्यार्थी, शिक्षक तथा अभिभावकमा भइरहेको अन्योल हट्ने बताए। ‘चैत सम्म वैकल्पिक माध्यमबाट अध्ययन गराएर भए पनि कोर्स सक्नुपर्छ। कक्षा १२ मा अवलम्बन गरिएको परीक्षा विधिलाई नै एसईईमा प्रयोग गर्न पनि सकिन्छ।प्रश्नपत्र छाप्नै पर्छ भन्ने छैन। इमेलबाट प्रश्नपत्र परीक्षा केन्द्रमा पठाइदिने र परीक्षा केन्द्रले परीक्षा सुरु हुनुभन्दा केही समयअघि प्रिन्ट गरेर परीक्षार्थीलाई वितरण गर्न सक्छन्। ’

इन्टरनेटको पहुँच नभएको केन्द्रमा छपाइ गरेर प्रश्नपत्र पठाउन सकिने बोर्डले जनाएको छ। बोर्डले एसईईलाई प्रदेश स्तरमा सञ्चालन गर्नुपर्ने भए पनि परिस्थिति सहज नभएको र परीक्षा नै खारेज गर्न भने नमिल्ने धारणा सहितको पत्र  शिक्षा मन्त्रालयलाई यस अघि नै पठाइसकेको छ।

शिक्षाको नयाँ संरचनाअनुसार कक्षा ८ को परीक्षा स्थानीय स्तरमा, कक्षा १० को वार्षिक परीक्षा प्रदेश स्तरमा र कक्षा १२ को परीक्षा राष्ट्रियस्तरमा गर्नुपर्ने भए पनि बोर्डले प्रश्नपत्र छपाइ गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, नतिजा प्रकाशन गर्ने लगायतका काम गर्दै आएको छ।

कोभिड-१९को महामारीका कारण २०७६ र २०७७ सालको एसईई सञ्चालन भएन। २०७६ सालको एसईईको प्रश्नपत्र जलाइएको थियो भने २०७७ सालको एसईईका प्रश्नपत्र परीक्षा नियन्त्रण कार्यालयमा सुरक्षित राखिएको छ।

प्रकाशित: Jan 23, 2022| 12:34 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्