काठमाडौं- पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेसँगै खोप लगाउनेको संख्या पनि बढिरहेको छ। अस्पतालहरूमा खोप लगाउनेको भिडभाड देख्न सकिन्छ। सरकारले खोपको उपलब्धता हुँदा पनि लगाउने कार्यलाई व्यवस्थापन गर्न नसकेको भन्दै सर्वसाधारणहरूको गुनासो रहेको छ।
यहीबीच एक जना डाक्टरले आफूले अस्पताल चाहर्दाचाहर्दै खोप नपाएको गुनासो गरेका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर अनूप सुवेदीले आफूले बुधबार कोरोनाविरुद्धको खोप लगाउनका लागि विभिन्न अस्पताल चहारेको भए पनि खोप नपाएको गुनासो गरेका छन्।
'सरकारको फ्रन्ट लाइनरलाई उपलब्ध गराउने भनिएको बुस्टर खोप लगाउन ११ बजे टेकु अस्पताल पुगें। २ बजेपछि मात्र दिने भनियो।अनि वयोधा अस्पताल र त्यहाँ नपाएपछि शहीद स्मृति अस्पताल, त्यहाँ पनि नपाएपछि फेरि २ बजेपछि टेकु नै गएँ। तर पनि कतै खोप पाइएन,' उनले भनेका छन्। उनले विभिन्न अस्पताल चहार्दा पनि खोप नपाउँदा दुःख लागेको बताएका छन्।
'हाल जागिर नभएको, फुर्सदिलो, अनि आफ्नै वाहन भएको म त आज वा भोलि पनि धाइरहुँला। तर, लाखौं स्वास्थ्यकर्मीमध्ये कति जनालाई त्यस्तो सुविधा प्राप्त होला,' उनले भने। उनले सरोकारवाला निकाय यसप्रति गम्भीर नबन्दा जनताले दुःख पाइरहेको बताएका छन्।
खोपको व्यवस्थापन गर्न नसक्ने स्वास्थ्य मन्त्रालयका जिम्मेवार पदाधिकारीले पदमा बसिरहनुको कुनै अर्थ नभएको उनको आक्रोश छ। 'अरू देशमा भए यस्तो गैरजिम्मेवारी पन हुँदा कारबाही हुन्थ्यो। यहाँ मनलाग्दी छ। यस्तो महामारीमा खेलबाड गर्ने अधिकार कसैलाई छैन। सरकारसँग १९ लाख डोज खोपको अभिलेख नै छैन। यो कम लज्जाको विषय हो,' उनले भने।
उनले स्वास्थ्यकर्मीलाई दोष दिएर मात्र केही नहुने बताउँदै राजनीतिक दलदेखि स्वास्थ्य मन्त्रालय नै यसको प्रमुख भागेदार भएको आरोप लगाएका छन्। उनले आफू केही समय पहिले ह्याम्समा कार्यरत रहे पनि एक महिना यता जागिर छोडेर खाली रहेको बताएका छन्। उनले आज पनि आफू बुस्टर डोजको खोजीमा जाने बताएका छन्।