सोमबार, साउन ६, २०८२

शिक्षक अस्पताल चितवनमा निर्माण गर्न भरतपुर महानगरको प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल चितवनमा निर्माण गर्न भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल चितवनमा निर्माण गर्न भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको छ। यसका लागि महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने महानगरले जनाएको छ। 

शिक्षा मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न डा. विमल चालिसेको संयोजकत्वमा बनेको समितिले चितवनसँगै मकवानपुरको चित्लाङ र भक्तपुरको जगाती र गुन्डुलाई सम्भावित भन्दै प्रस्ताव गरेको छ। समितिले नवलपरासी, मकवानपुर, ललितपुर, काठमाडौँमा समेत जग्गा हेरेको थियो।

समितिका सदस्य शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताए। उनले भने, ‘समितिले थुप्रै ठाउमा जग्गा हेरे पनि भरतपुर महानगरभित्रको जग्गा उपयुक्त हुने देखिएको छ। देशकै केन्द्र भागमा पर्ने भएकाले पनि चितवन नै उपयुक्त हुन्छ। देशभरीका शिक्षकलाई पनि पायक पर्ने ठाउँ हो।’

भरतपुर महानगरले भगवानपुरमा आठ बिघा १६ कट्ठा जग्गा उपलब्ध गराउने निर्णय गरी मन्त्रालयलाई कागजपत्र बुझाउने जनाएको  छ। महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायसँग छलफल गरेर जग्गा उपलव्ध गराउने निर्णय गरेको हो। 

महानगरले सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिकको स्थलगत नापजाँच प्रतिवेदन, वडा नम्बर १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय मन्त्रालयलाई पेश गर्ने तयारी गरेको छ।

शिक्षक अस्पताल चितवनमा बनाउने विषयमा नेकपा माओवादी अध्यक्ष प्रचण्ड र शिक्षा मन्त्री देवेन्द्र पौडेलले पनि चासो देखाएका छन्। चितवनको भरतपुरमा अहिले क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र संघीय सरकारी अस्पताल रहेका छन्।

शिक्षा मन्त्रालयले सुरुमा तीन सय शैयाको अस्पताल र बिरामी कुरुवा घर निर्माण गरेर त्यसलाई विस्तारै थप गर्ने योजना बनाएको  छ।



प्रकाशित: Jan 13, 2022| 15:20 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्