चितवन- जिल्लामा कोभिड-१९ (कोरोना) भाइरसको संक्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ। प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन्।
प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ। सवारीसाधन, सार्वजनिकस्थलमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ। अस्पतालहरूले पनि संक्रमित बढ्न सक्ने भन्दै थप तयारी गरेका छन्।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले कोरोना संक्रमितको नियमित उपचार हुँदै आएको जानकारी दिँदै हाल २८ शय्या छुट्याइएको बताएका छन्। तीमध्ये १० शय्या सघन उपचारकक्ष र १८ शय्या एचडीयू रहेका छन्। उनले आवश्यकतानुसार शय्या बढाउँदै लैजाने जानकारी दिए।
अस्पतालमा अक्सिजन प्लान्ट र तरल अक्सिजन ट्याङ्कसमेत जडान गरिएकाले विगतको जस्तो अक्सिजनको अभाव नहुने उनले जानकारी दिए। भरतपुर अस्पतालले दुई दिनअघि कोभिड प्राविधिक समिति नै बनाएर कोभिड संक्रमितको उपचारको थप तयारीमा लागेको उनको भनाइ छ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप देवकोटाले संक्रमण बढ्न थालेपछि थप तयारी गरिएको बताए। उनले पछिल्ला दिनमा संक्रमित आउने क्रम बढेको बताउँदै हाल २५ शय्या कोभिडका लागि छुट्याइएको जानकारी दिए। देवकोटाले भने, ‘हामीले आवश्यकतानुसार शय्याको संख्या बढाउँदै लैजान्छौँ।’
कोभिडको दोस्रो लहरसँगै सघन उपचारकक्ष र एचडीयूको संख्या बढाइएको जानकारी दिँदै देवकोटाले संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, सघन उपचारकक्ष, एचडीयू र बच्चाका लागि बाल सघन उपचारकक्षसमेत पर्याप्त रहेको जानकारी दिउ। उनले पिसीआर परीक्षण गर्ने आफ्नै प्रयोगशाला रहेको समेत जानकारी दिएका छन्। रासस