बुधबार, साउन ८, २०८२

चितवनमा कोरोना संक्रमण बढ्दो

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो। जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमण देखिएको हो।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

चितवन- जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ।  कात्तिकदेखि घट्दै गएको कोरोना संक्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो। 

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो। जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमण देखिएको हो।

पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४० पुगेको हो। यस्तै एन्टिजेन परीक्षणका क्रममा एक जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिइन्। 

उनका अनुसार संक्रमण देखिनेमा भरतपुर महानगरपालिकाका- २९, रत्ननगर नगरपालिकामा ५, माडी र राप्ती नगरपालिकामा ३/३ र खैरहनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो। जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ११९ जना रहेको छ। जसमध्ये सातजना होम आइसोलेशनमा र ११२ जना होम आइसोलेशनमा रहेका छन्। 

यस अघिका दिनमा संक्रमितको संख्या कम थियो। पुस २४ गते एक जनामा संक्रमण देखिएको थियो। २३ गते ११, २२ गते ९, १८ गते १२, १२ गते ६, पुस १ गते ५ जनामा संक्रमण देखिएको थियो। एकाएक यो संख्या बढेको हो। 

चालू आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्लामा साउन ७ गते २५५ जनामा कोरोना संक्रमण देखिएको थियो। साउनको महिना दैनिक २०० हाराहारीमा कोरोना संक्रमण देखिएकोमा भदौमा यो संख्या घटेर एक सयको हाराहारीमा आएको थियो। 

यस्तै असोज/कात्तिकमा ५० को हाराहारीमा रहेको कोरोना संक्रमण मंसिरमा २० देखि ३० जनामा देखिन थालेको थियो। यसरी घट्दै गएको संक्रमणको अनुपात अहिले आएर फेरि बढ्न थालेको ढकालले बताइन्। उनले भनिन्, ‘एक सातापछि कोरोना संक्रमण दर उच्च बन्ने खतरा छ।’ सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न कार्यालयले आग्रह गरेको छ।   रासस

प्रकाशित: Jan 10, 2022| 14:12 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्