काठमाडौं- फाइजर खोप लगाउन आवश्यक पर्ने सिरिन्ज नेपाल आइपुगेको छ। बालबालिकालाई लगाइने फाइजर खोपका लागि ६ लाख ६४ हजार ५६० मात्रा सिरिन्ज मंगलबार नेपाल आइपुगेको हो।
कोभ्याक्समार्फत शून्य दशमलव ३ एमएलको ६ लाख ६४ हजार ५६० सिरिन्ज ल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।
पुस ९ देखि बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने भनिए पनि सिरिन्ज र खोपलाई आवश्यक पर्ने घोलक नहुँदा खोप अभियान सञ्चालन हुन सकेको थिएन। गत बुधबार घोलक आइपुगेको थियो भने हिजो मंगलबार सिरिन्ज आइपुगेको हो।
सरकारले उपत्यका लगायत ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउने निर्णय गरेको थियो। तर त्यसलाई आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिरिन्ज नआउँदा खोप कार्यक्रम स्थगित भएको थियो।
फाइजर खोपका लागि प्रतिभाइल १.८ मिलिलिटर ०.९ प्रतिशत घोलक हाल्नुपर्ने हुन्छ। खोपसँगै घोलक र सिरिन्ज नआउँदा यो समस्या भएको विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनी बताउँछन्। अब बालबालिकाका लागि चाँडै खोप अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।