वाराणसी- भारतको उत्तरप्रदेशको वाराणसीस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा दुई नेपाली छात्र सर्वोत्कृष्ट भएका छन्।
विश्वविद्यालयको सोमबार सम्पन्न ४०औँ दीक्षान्त समारोहमा बाग्लुङ नगरपालिका-७ का सुदर्शन गौतम र अमरगढी नगरपालिकाका सन्तोष भट्ट सर्वोत्कृष्ट अंक ल्याएर पुरस्कृत भएका हुन्। गौतमले आचार्य तहको संस्कृत व्याकरण विषयमा सर्वाधिक अंक प्राप्त गरेर ५ स्वर्णपदक प्राप्त गरे भने भट्टले उत्तरमध्यमा तहको परीक्षामा सर्वाधिक अंक प्राप्त गरेर कास्य पदक प्राप्त गरे।
सर्वोत्कृष्ट छात्रहरुलाई सम्मान गर्दै उत्तरप्रदेशकी राज्यपाल आनन्दी बेन पटेलले संस्कृत देवभाषा भएको बताइन्। उनले सम्मानित छात्रहरुलाई बधाई ज्ञापन गरेकी थिइन्। सम्मानपछि दुवै छात्रले सञ्चारकर्मीहरुसँगको छोटो संवादमा संस्कृत र संस्कृतिको विकासका लागि सधैं क्रियाशील रहने बताए। उनीहरुले सनातन संस्कृति रक्षार्थ सबै नेपालीलाई एकजुट हुने आग्रह गरे।
विश्वविद्यालयअन्तर्गतको आचार्य तहको परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिन्छ। प्रमाणपत्र तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्नेले भने कास्य पदक पाउँदै आएका छन्।