काठमाडौं - त्रिभुवन विश्वविद्यालय सेवा आयोगको स्थगित भएको शिक्षक तथा कर्मचारी नियुक्तिको प्रक्रिया सुचारु गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चले आयोगले खुला प्रतियोगिताबाट शिक्षक तथा कर्मचारी भर्नाका लागि २०७७ फागुन ९ गते गरेको विज्ञापन बमोजिम प्रक्रिया तत्काल अघि बढाउन अन्तरिम आदेश दिएको हो।
विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थी नेता रमेश विष्टले दायर गरेको रिटमा न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले त्रिवि सेवा आयोगको स्थगित भएको नियुक्तिको प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको हो।
त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम संशोधन अघि नै विज्ञापन भइसकेकोले खुला प्रतियोगिता सम्बन्धी विज्ञापनलाई पछिल्लो विश्वविद्यालय सिनेटको निर्णयले असर नगर्ने भएकाले प्रक्रिया अघि बढाउन आदेशमा भनिएको छ।