स्वार्थ शब्द स्व र अर्थ मिलेर बनेको हो । स्व भनेको आफ्ना र अर्थ भनेको लागि हो। अर्को अर्थमा भन्दा स्व भनेको आत्मा हो। त्यसैले स्वार्थलाई आत्मार्थ भन्दा पनि हुन्छ। सत्यको खोजीमा निस्केका सबै मानिस आत्मार्थी हुन्। स्वार्थी हुन्। स्वार्थ शब्दको प्रयोग गलत रुपमा हुँदै आएको छ। त्यसैले त्यो त्यति ठिक लाग्दैन अचेल।
अहंकारलाई स्व ठानेर कुरा बिग्रिएको हो। अहंकार हाम्रो आत्मा होइन। अहंकार हामी होइनौं। अहंकारको आफ्नो कुनै अस्तित्व छैन। यो झुटो कुरा हो। यो त मानिस आफ्नै आविष्कार हो। समाजले यो झुटो आविष्कारलाई सहारा दिएको छ। समाज झुटा व्यक्तिहरूको जमात चाहन्छ। किनकि झुटामाथि शासन गर्न सजिलो हुन्छ। सत्य विद्रोही हुन्छ।
नेताहरू हामीलाई झुटो व्यक्तित्व भएको चाहन्छन्। पण्डित पुरोहितहरू पनि यस्तै चाहन्छन्। किनकि यसैमा उनीहरूको धन्दा चल्छ। नागरिक सच्चा हुँदै गए भने यिनीहरूको धन्दा ठप्प हुन्छ। सच्चा मानिसलाई मन्दिर, मस्जिद, गुरुद्वारा, चर्च आदि स्थान, उपासना स्थलमा कुनै स्थान हुँदैन। राजनीतिक दलमा पनि झुटाहरूकै बोलवाला देखिन्छ। इमानदारहरू कहिले अगाडि आउन सकेका छैनन्। जिससले भनेका छन्, ‘बरु स्याल–ब्वाँसा भव्य महलमा बस्छन्। मलाई कतै स्थान छैन।’ अद्भुत लाग्छ मलाई जिससको यो भनाइ।
अब कुरा गरौं अहंकारको। अहंकारको अर्थ म यो अस्तित्वबाट अलग हुनु हो। यो सारा संसार मबाट अलग, सारा अस्तित्व अलग छ। यही अहंकारको तात्पर्य हो। जुन असत्य हो। हामी अस्तित्वबाट अलग छैनौं। सासबाट जोडिएका छौं। सूर्यको किरणबाट जोडिएका छौं। भोजनलगायत सबैतिरबाट अस्तित्वसँग गाँसिएका छौं। त्यसको पहिचान नभएकाले हाम्रो जग गलत भयो। त्यो गजमा निर्माण भएको स्वार्थ र परमार्थको भवन झुटा बन्यो। अर्थात् संसारले बुझेको स्वार्थ, परमार्थ अर्कै हो। झुटा कुरा हो। व्यक्तिको परमस्वार्थमा नै परमार्थ लुकेको हुन्छ। आफूले आनन्द प्राप्त गर्दा मात्र अरुलाई आनन्दको वर्षा गराउन सकिन्छ। आफूभित्रको दियो बाल्दा मात्र अरुले त्यसको उज्यालोबाट बाटो खोज्न सक्नेछन्। सत्संग भनेको पनि यही हो। जो व्यक्ति शान्त हुन्छन् उनीहरूको वरिपरि शान्तिको वर्षा हुन्छ।
जब तपाईंको जीवनमा स्वार्थ पूरा हुन्छ त्यसपछि मात्र सेवाको आगमन हुनेछ। सेवा परिणाम हो। साधारणतया हामीलाई उल्टो सिकाइएको छ। यहाँ सेवा गर्यो भने तपाईं आफूलाई प्राप्त गर्नु हुनेछ भनिन्छ। तर, त्यसो होइन। पहिला आफूलाई प्राप्त गरेर सेवा गर्यो भने त्यसले जीवन जगतको सार बुझाउनेछ। हामीसँग सेवा गर्ने के नै छ र?
महामतिले भनिदिनुभयो, ‘सुुख शीतल करु संसार’। संसारलाई सुख, शीतलता प्रदान गर्नका लागि पहिले आफू सुखी र शीतल हुनुपर्छ। जुन व्यक्तिले परमात्माको अनुभूति गर्छ त्यो व्यक्तिको वरिपरि परमात्माले नै परिक्रमा गर्नुहुन्छ। त्यस्ता व्यक्तिको नजिक जाने व्यक्तिले पनि परमात्माको पाइलाको आभास गर्न थाल्नेछ। अद्भुत अनुभूति हुनेछ उसको निकट। सत्संगको अर्थ अन्यको अनुभूति गर्नु हो। त्यस्तो व्यक्तिको नजिक पुग्दा आफ्नो जीवन डुंगाको पाल खोलिदिनुपर्छ। त्यसो गर्दा जीवनयात्रामा सललल बग्न सकिन्छ। अहंकारले बहाना चलाउन चाहन्छ, पाल खोल्न दिँदैन। अहंकार आफ्नै चेष्टामा मस्त हुन्छ। परमात्मालाई केही गर्न दिँदैन। सत्संगको अर्थ बहाना थन्काइदिनु हो। किनाराबाट अलिकति पनि यताउता सरेको छैन भने त्यस्तो डुंगाको के अर्थ? किलामा बाधेकै ठाउँमा डुंगा छ भने त्यसको के अर्थ? बाधिएको डुंगालाई आँखा चिम्लिएर खियाउन खोज्नु बेर्थको परिश्रम गर्नु हो।
एकपटक एक हुल गँजेडी एउटा डुंगामा चढेछन्। रातभर डुंगा खियाइनै रहे। बिहान गाँजाको नसाले छोड्यो। एक जनाले हामी कहाँ आइपुग्यौं भनेर सोधे। तर उनीहरू कहीं पुगेका थिएनन्। डुंगामा थिए। पछि मात्रै उनीहरूलाई थाहा भयो – रातभर डुंगा खियाएको त व्यर्थै भएछ। हामीले त डुंगालाई बाधेको ठाउँबाट खोल्नै भुलेछौं। त्यसैले जीवनको डुंगा व्यर्थै खियाउनु हुँदैन। अब डुंगाको पाल खोल्न सिक्नुपर्छ। हावा चलेको चिसाको पहिचान गर्न सक्नुपर्छ। मानिस आनन्दित भएर जीवनको फूल फक्रियो भने सुगन्ध आपैंm जताततै फैलिन्छ। सुँघ्न चाहनु नचाहनु व्यक्तिको इच्छा हो। जसले पहिले स्वार्थ सिद्ध ग¥यो त्योबाट मात्रै परमार्थ सम्भव छ। जसले आफ्नै हित गर्न सकेको छैन उसले अर्काको हित कसरी गर्न सक्छ? जसले आफ्नै दियो बाल्न सकेको छैन त्यसले अर्काको प्यालामा ज्योति कसरी सल्काउन सक्छ? निभेको दियोले अरु दियो सल्काउन खोज्यो भने अरु दियोको सल्कने सम्भावना पनि मर्नेछ।
जब तपाईंको जीवनमा स्वार्थ पूरा हुन्छ त्यसपछि मात्र सेवाको आगमन हुनेछ। सेवा परिणाम हो। साधारणतया हामीलाई उल्टो सिकाइएको छ। यहाँ सेवा गर्यो भने तपाईं आफूलाई प्राप्त गर्नु हुनेछ भनिन्छ। तर, त्यसो होइन। पहिला आफूलाई प्राप्त गरेर सेवा गर्यो भने त्यसले जीवन जगतको सार बुझाउनेछ। हामीसँग सेवा गर्ने के नै छ र? हामीले अहिले सेवाका नाममा आफ्नो विष अरुलाई छरिरहेका छौं। यहाँ पतिले म पत्नीलाई प्रेम गर्छु भनिरहेको हुन्छ। पत्नीलाई सोध्दा उनले यो मान्छेले सधैं मलाई सतायो भनिरहेकी हुन्छिन्। त्यसैले पत्नीले सधैं आफूले सेवा गरेर सुख दिइरहेको सोचिरहेकी हुन्छिन्। पतिलाई सोध्दा पत्नीबाट सुख मिलेको बताउँदैन। बेकारको झन्झट बोकें भनिरहेको हुन्छ। एक्लो हुँदा आनन्द थियो। सन्तान भइसकेपछि एक्लो हुनुको मजा थाहा पाएर के काम?
मातापिताले बालबच्चाको सुखका लागि यो सब गरिरहेको बताउनुहुन्छ। बालबालिकाले यी दुष्ट हुन् भनिरहेका हुन्छन्। हाम्रो स्वतन्त्रता खोसिदिएका छन् भन्छन्। जबरजस्ती हामीमाथि अनुशासन थोपर्दछन् भन्छन्। आमा बच्चालाई टेबलमा राखेर खाना खुवाउन खोज्छिन्। बच्चालाई खान मन छैन। नाइँ, नाइँ भन्दै छ। जबरजस्ती कोच्याइदियो भने थु गरेर मिल्काइदिन्छ। आँखाबाट आँसु बगाउँछ। बाक्क गर्छ। तर, आमा लौरो देखाएर हुन्छ कि मोबाइलमा कार्टुन देखाएर हुन्छ खाना खुवाउन खोज्छिन्। आमालाई आफूले माया र सेवा गरिरहेको लाग्छ। तर, बच्चालाई कहिले ठूलो भएर यी सब झन्झटबाट मुक्ति मिल्ने होला लाग्छ। यसरी थोपरिएको सेवाबाट यो संसार बनेको छ। र, यति कुरुप र विघ्न छ। यसरी सेवा गर्दा पनि किन सुखद परिणाम आइरहेको छैन त? हामीले कतै भूल गर्दै छौं। त्यो भूल भनेको हामीलाई जीवनमा कुनै आनन्द र रस नआउनु हो। तपाईं अरुलाई आनन्दको रस बाँड्न हिँडिरहनुभएको छ। त्यसैले जीवनमा यस्तो भूल गर्नु हुँदैन। सार्थक जीवन खोज्नुपर्छ।